काठमाडौं- गतिशील लोकतान्त्रिक पार्टीका नेता वीरेन्द्रबहादुर बस्नेतले पार्टी छोडेका छन्। उनले सामाजिक सञ्जालमार्फत सक्रिय राजनीति छोडेर व्यावसायिक जीवनमा फर्किएको घोषणा गरेका हुन्।
'अब म एक स्वतन्त्र, जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत मातृभूमिको सेवामा समर्पित रहने छु,' उनले भनेका छन्।
उनी जेनजी आन्दोलनपछि स्थापना भएको गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य थिए।
जेनजी आन्दोलनलाई भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितिविरुद्धको विस्फोटका रूपमा लिएको बताउँदै उनले दिगो रोजगारी, सुशासन र समतामूलक विकासको बाटो खोज्दै नयाँ राजनीतिक अभियानमा सहभागी भए पनि त्यो अगाडि बढ्न नसकेको बताए।
'हालको राजनीतिक संस्कारले मेरो आत्मासँग मेल खाएन। मैले बुझेँ, पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन सकिँदैन। अबको बाटो फरक छ तर देशप्रतिको समर्पण यथावत छ,' उनले लेखेका छन्।
आगामी दिनमा आफ्नो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
बस्नेत निजी क्षेत्रबाट सञ्चालित विमान कम्पनी बुद्ध एयरका सञ्चालक हुन्।

