शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

प्रधानमन्त्री कार्कीले गरिन् कतारका समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे कुराकानी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २१ २०८२
प्रधानमन्त्री कार्कीले गरिन् कतारका समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे कुराकानी

प्रधानमन्त्री कार्कीले कतारमा रहेका तीन लाख ६० हजार नेपाली नागरिकको सुरक्षा तथा संरक्षण उपलब्ध गराएकामा नेपाल सरकार र नेपाली जनताको तर्फबाट कतारी प्रधानमन्त्री थानीलाई धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँग आज टेलिफोन वार्ता गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी छिन्।

प्रधानमन्त्री कार्कीले कतारमा रहेका तीन लाख ६० हजार नेपाली नागरिकको सुरक्षा तथा संरक्षण उपलब्ध गराएकामा नेपाल सरकार र नेपाली जनताको तर्फबाट कतारी प्रधानमन्त्री थानीलाई धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री कार्कीले पश्चिम एसिया क्षेत्रमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको बताउँदै सम्बद्ध सबै पक्षलाई संयमित रहन, द्वन्द्वलाई थप नचर्काउन र नागरिकको सुरक्षाको प्रत्याभूति हुनुपर्ने नेपालको धारणा रहेको बताएकी थिइन्।

उनले नेपालले सबै राष्ट्रले संयुक्त राष्ट्रसंघको बडापत्र, अन्तर्राष्ट्रिय कानून, जेनेभा अभिसन्धि र मानवीय कानूनको उचित सम्मान र पालना गर्नुपर्ने कुरामा जोड दिइएको बताएकी थिइन्।

कुनै पनि बहानामा युद्ध शान्तिको विकल्प हुन नसक्ने बताउँदै प्रधानमन्त्री कार्कीले वार्ता र कूटनीतिको माध्यमबाट मात्र दीर्घकालीन शान्ति सुनिश्चित हुने बताइन्।

उनले दुई मुलुकबीचको सम्बन्ध आगामी दिनमा उच्चस्तरीय भ्रमण आदानप्रदान, आर्थिक तथा सांस्कृतिक सहकार्य र जनस्तरको सम्बन्धमार्फत थप प्रगाढ हुने विश्वास पनि व्यक्त गरिन्।

टेलिफोन संवादका क्रममा प्रधानमन्त्री कार्कीले कतारको परिस्थितिप्रति ऐक्यबद्धता व्यक्त गर्दै कतारको सार्वभौम भूमिमा खासगरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति गहिरो चासो व्यक्त गरिन्। साथै उनले कतारले रचनात्मक भूमिकासहित वर्तमान परिस्थितिको सामना गर्न सक्षम हुने विश्वास व्यक्त गरिन्।

कतारका प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थानीले नेपाल र कतारबीचको सुमधुर, प्रगाढ र मित्रवत् सम्बन्धको उच्च प्रशंसा गरेका थिए। रासस


प्रकाशित : बिहीबार , फागुन २१ २०८२१७:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend