शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

प्रतिनिधिसभा निर्वाचन : देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

बिहीबार , फागुन २१ २०८२
प्रतिनिधिसभा निर्वाचन : देशभर करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

मतदान सम्पन्न भएपछि आज बिहीबार साँझ निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिएका हुन्।

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभर करिब ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।
 
मतदान सम्पन्न भएपछि आज बिहीबार साँझ निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिएका हुन्। पूर्ण विवरण संकलन गर्न भने बाँकी रहेको उनले बताए।
 
निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको थियो। छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। 
 
यसपटकको निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता कायम थिए। १ लाख ८६ हजार १४२ जना अस्थायी मतदाता थिए।
 
संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा रहने प्रत्यक्षतर्फका १६५ जना र समानुपातिकतर्फका ११० जना २७५ जना सांसदका लागि आज बिहीबार मतदान भएको हो।
 
मतदानका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ वटा मतदान केन्द्र कायम गरिएको थियो। यस्तै १४३ वटा अस्थायी मतदानस्थल तय गरिएको थियो।
 
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो।

प्रतिनिधिसभा सदस्य निर्वाचनामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य गरी ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन्।

त्यसैगरी सामानुपातिक निर्वाचन प्रणालीतर्फ १  हजार ३६३ पुरुष र १  हजार ७७२ महिला गरी ३ हजार १३५ जना उम्मेदवार छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुँदै छ।

आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको मतपरिणाम दिने गरी गणना गराउने प्रबन्ध गरिएको  जनाएको छ। त्यसलगत्तै समानुपातिकतर्फको मतगणना हुने जनाइएको छ।

दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गरिने र अन्य स्थानको गाडीबाट संकलन गरिने आयोगले जानकारी दिएको छ।

मतपत्र र मतपेटिकाको सुरक्षा र संकलन विगतमा झैँ एकीकृत सुरक्षा योजनाबमोजिम हुने भएकाले मतपेटिका सुरक्षित हुने आयोगको भनाइ छ।

 


प्रकाशित : बिहीबार , फागुन २१ २०८२१८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend