शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३
प्रतिनिधिसभा निर्वाचन

जेनजी पुस्ताका मतदाता भन्छन्- हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २१ २०८२
जेनजी पुस्ताका मतदाता भन्छन्- हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्

पहिलोपटक मतदान गर्ने वा विदेशबाट फर्किएर मतदानमा सहभागी हुने युवाहरूले आफ्नो मतलाई देशको भविष्यसँग जोडेर हेरेका छन्।

काठमाडौं- निर्वाचनमा यसपटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह उल्लेख्य देखिएको छ। पहिलोपटक मतदान गर्ने वा विदेशबाट फर्किएर मतदानमा सहभागी हुने युवाहरूले आफ्नो मतलाई देशको भविष्यसँग जोडेर हेरेका छन्।

तीन वर्षदेखि अध्ययनका लागि क्यानडामा बस्दै आ‍एकी २५ वर्षीया सुजानी श्रेष्ठ यसपटकको निर्वाचनमा सहभागी हुन नेपाल फर्किइन्। डिल्लीबजारस्थित पद्यकन्या विद्याश्रममा मतदान गरेपछि रासससँग संवाद गर्दै उनले मतदान गर्न पाउँदा यत्साहित भएको प्रतिक्रिया दिइन्।

उच्च शिक्षा र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य र पारदर्शिता आगामी सरकारको प्राथमिकता हुनुपर्नेमा श्रेष्ठले जोड दिइन्। 'यसपटक जसरी पनि मतदान गर्नुपर्छ भनेर म क्यानडाबाट भर्खरै नेपाल फर्किएकी हुँ,' उनले भनिन्, 'अब बन्ने सरकारको पहिलो प्राथमिकतामा पारदर्शिता, सुशासन पर्नुपर्छ। हाम्रो देशमा भ्रष्टाचार बढी हुनाले युवाहरू विदेशिन बाध्य छन्। देशभित्रै गुणस्तरीय शिक्षा र रोजगारीको अवसर सृजना भएमा अधिकांश युवा स्वदेशमा बस्नेछन्। अब बन्ने सरकारले यी विषयलाई प्राथमिकतामा राखोस् भन्ने आशा छ।'

मैतीदेवी घट्टेकुलो निवासी श्रेष्ठले यसअघिको निर्वाचनमा पनि मतदान गरिसकेकी छिन्। तर यसपटकको अनुभवमा आफू बढी उत्साहित र आशावादी रहेको बताइन्। श्रेष्ठले यसपटक परिवारभित्रै पनि फरक-फरक राजनीतिक धारणा देखिएको उल्लेख गरिन्। 'हामीले लामो समयसम्म परिवारभित्रै दल र उम्मेदवारका एजेण्डाबारे छलफल गर्‍यौँ। मैले मतदानमा स्वविवेक प्रयोग गरेकी छु,' उनले भनिन्।

पहिलोपटक निर्वाचनमा सहभागी भई मतदान गरेका १९ वर्षीय सार्थक संग्रौलाले आफू मतदान गर्न पाउँदा उत्साहित हुनुका साथै आफूलाई थप जिम्मेवार बनाएको धारणा राखे। काठमाडौं निर्वाचन क्षेत्र नं १ को मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा मतदान गरिसकेपछि रासससँग अनुभव सुनाउँदै उनले भने, 'पहिलोपटक भोट हाल्दा केही अफ्ठयारो लागेको थियो, कसलाई भोट हाल्ने भन्ने अन्योल पनि थियो,' उनले भने, 'मेरो मतको कदर हुन्छ, देशका लागि राम्रो हुन्छ भन्ने अपेक्षा छ।' उनले बाबुआमासँग छलफल गरे पनि अन्तिम निर्णय भने आफ्नै विवेकबाट गरेको बताए।

यस्तै २६ वर्षीय मन्जुल पराजुली पनि पहिलोपटक मतदान गर्दा निकै उत्साहित देखिए 'अनुहारमा देखिन्छ होला, म एकदम उत्साहित छु,' उनले हाँस्दै भने। उनको अपेक्षा छ, अब देशमा राजनीतिक स्थिरता कायम हुन्छ। 'पछिल्ला राजनीतिक घटनाक्रमका घाउ अझै ताजा छन्। अब निर्वाचित नेतृत्वले पाठ सिकेर देशलाई स्थिरता दिनुपर्छ,' उनले भने।

पराजुलीले युवापुस्ताका जायज माग पूरा हुनुपर्नेमा जोड दिए। सोही मतदान केन्द्रमा मतदान गरेकी २४ वर्षीया आकृति सापकोटाले पनि यसपटकको निर्वाचनप्रति आशावादी रहेको बताइन्। 'यसपटकका उम्मेदवार सक्षम देखिन्छन्। के सही र के गलत भन्ने अनुभव पनि सबैले गरिसकेका छन्,' उनले भनिन्, 'पहिले जे भयो त्यही फेरि नदोहोरियोस्, हाम्रो भविष्य राम्रो बनोस् भन्ने चाहना छ।'

उनको यो दोस्रो मतदानको अनुभव हो। पहिलोपटक मतदान गर्दा परिवारको सल्लाहमा निर्णय गरेको भए पनि यसपटक भने दलका एजेण्डा अध्ययन गरेर आफूले निर्णय गरेको उनको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , फागुन २१ २०८२१५:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend