शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान जारी

बिहीबार , फागुन २१ २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान जारी

मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुँदै छ।

काठमाडौं- जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ।

निर्धारित निर्वाचन कार्यतालिकाअनुसार अहिले बिहान ७  बजेदेखि मतदान सुरु भएको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुँदै छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दै छन्। प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र अन्य एक गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुँदै छ।

निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन्। यसैगरी, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएका निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। १४३ अस्थायी मतदानस्थल तय भएको छ। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन भएका छन्। रासस


प्रकाशित : बिहीबार , फागुन २१ २०८२०७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend