काठमाडौं- संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा रहने २७५ जना सांसद छनोट गर्ने प्रयोजनका लागि आज बिहीबार निर्वाचन हुँदै छ। निर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताका युवाको आन्दोलनका कारण तत्कालीन सरकार विघटन भएपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले आज निर्वाचन गराउन लागेको हो। आन्दोलनको जगमा गठित अन्तरिम सरकारले आफूले पाएको 'म्यान्डेट'अनुसार जननिर्वाचित प्रतिनिधि सम्मिलित नयाँ सरकार गठन गरी सत्ता हस्तान्तरण गर्न निर्वाचन गराउन लागेको हो।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो।
७७ जिल्लाका १६५ वटा निर्वाचन क्षेत्रमा हुन लागेको निर्वाचनमा मतदानका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ वटा मतदान केन्द्र कायम गरिएको छ। यस्तै १४३ अस्थायी मतदानस्थल तय गरिएका छन्। ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३८८ महिला र १ अन्य गरी ३ हजार ४०६ जना उम्मेदवार मैदानमा छन्।
त्यसैगरी सामानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३६३ पुरुष र १ हजार ७७२ महिला गरी ३ हजार १३५ जना उम्मेदवार छन्। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुँदै छ।
यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम छन्। १ लाख ८६ हजार १४२ अस्थायी मतदाता छन्।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्। निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पुर्याइसकेको छ।
यसपटकको निर्वाचनमा चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भई मतदान गर्न आह्वान गरिसकेका छन्।
संवैधानिक दायित्वअनुसार निर्वाचन आयोग स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरा कटिबद्ध रहेको आयोगको भनाइ छ।
आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको मतपरिणाम दिने गरी गणना गराउने प्रबन्ध गरिएको जनाएको छ। त्यसलगत्तै समानुपातिकतर्फको मतगणना हुने जनाइएको छ। दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गरिने र अन्य स्थानको गाडीबाट संकलन गरिने आयोगले जानकारी दिएको छ।
मतपत्र र मतपेटिकाको सुरक्षा र संकलन विगतमा झैँ एकीकृत सुरक्षा योजनाबमोजिम हुने भएकाले मतपेटिका सुरक्षित हुने आयोगको भनाइ छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनविरोधी गतिविधिमा आयोगले शून्य सहनशीलतानको नीति लिएको स्पष्ट पारे।
मतदान गर्न जाँदा मतदाताले आफ्नो मतदाता परिचयपत्र लिएर जानुपर्ने आयोगले भनेको छ। मतदाता परिचयपत्र नभएको खण्डमा नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, चालक अनुमतिपत्र वा जग्गाधनी पुर्जा लिएर मतदान केन्द्रमा जान सकिने आयोगले जनाएको छ।
आयोगले मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत/दूरसञ्चार मर्मत, खानेपानी तथा ढल मर्मत, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधन मात्र सञ्चालन गर्न पाइने भएको छ। अन्य सार्वजनिक तथा निजी सवारी साधनहरू हिजो बुधबार मध्यराति १२ बजेदेखि आज बिहीबार साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाइएको छ।
आज आन्तरिक उडानहरू भने नियमित रूपमा सञ्चालन हुनेछन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गर्दै मतदानका दिन देशभर आवश्यकताअनुसार सबै प्रकारका आन्तरिक उडानहरू सञ्चालन हुने जनाएको हो।

