शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १९ २०८२
कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर गएको प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले बताए।

कास्की- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाका ३६५ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ। प्रदेश निर्वाचन कार्यालय पोखराले सोमबार सबै केन्द्रका लागि मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको जनाएको छ।

सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर गएको प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले बताए।

'कास्कीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएर मतदान गर्न मात्र बाँकी छ। मतदान अधिकृत र सहायक मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझेर मतदान केन्द्रमा पुगेका छन्। जिल्लामा शान्ति, सुरक्षालगायत केही समस्या छैन। मतपत्र ढुवानी र मतगणनासम्मको तयारी गरिएको छ,' प्रदेश निर्वाचन अधिकारी ढकालले भने।

पोखरा-३२ स्थित चन्द्रज्योति आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत गुणराज अधिकारीले आफूहरु सोमबार साँझ नै सम्पूर्ण सामग्रीसहित मतदान केन्द्रमा आइपुगेको बताए। उनले निर्वाचन गराउन उच्च मनोबलका साथ उत्साहित भएर लागिरहेको बताए।

'निर्वाचनलाई लिएर हामी उत्साहित छौँ, कर्मचारी र सुरक्षाकर्मीको हाम्रो टोली मतदान केन्द्रमा आइपुगेका छौँ। मंगलबार र बुधबार मतदान केन्द्रमा गर्नुपर्ने सूचना टाँस, सर्वदलीय बैठकलगायतका काम गर्छौँ,' अधिकारीले भने।

कास्कीमा १५३ मतदानस्थल र ३६३ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र गरी ३६५ मतदान केन्द्रमा दुई हजार १९० कर्मचारी खटिनेछन्। मतदान अधिकृतले मतदान केन्द्रमा चुनावका दिनका लागि तीन जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ।

निर्वाचनका लागि कर्मचारी खटनपटन निर्देशिकाअनुसार ५०० भन्दा कम मतदाता भएको मतदान केन्द्रमा पाँच जना कर्मचारी छन्। जसमा एक जना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी रहने छन्।

त्यसैगरी मतदान केन्द्रमा एक हजार ९२ जना स्वयंसेवक खटाइने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

निर्वाचन कार्यालयका अनुसार कारागारका कैदीबन्दीका लागि कारागारमा मतदान केन्द्र तोकिएको छ। त्यसैगरी मतदानमा नखटिने कर्मचारीका लागि जिल्ला समन्वय समितिमा रहने मतदान केन्द्रमा कर्मचारीले समानुपातिकतर्फ मत दिने छन्।

जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन्। त्यसैगरी मतदाता संख्या तीन लाख आठ हजार ५७२ जना र दुई हजार ८६१ जना अस्थायी मतदाता छन्। यसमा महिला ७२० र पुरुष दुई हजार १४१ छन्। रासस


प्रकाशित : मंगलबार, फागुन १९ २०८२१४:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend