बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अरू काम छाडेरै भए पनि निर्वाचनमा सहभागी हुन सबै मतदातालाई प्रधानमन्त्रीको आग्रह

सोमबार, फागुन १८ २०८२
अरू काम छाडेरै भए पनि निर्वाचनमा सहभागी हुन सबै मतदातालाई प्रधानमन्त्रीको आग्रह

फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन प्रधानमन्त्री कार्कीले आग्रह गरेकी छिन्।

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि निर्वाचनमा सहभागी हुनका लागि सबै मतदातालाई आग्रह गरेकी छन्।

आज सोमबार राष्ट्रका लागि  सम्बोधन गर्दै उनले फागुन २१ गते बिहीबारका दिन अरु कामै छोडेर भए पनि मतदान केन्द्रमा पुगेर मतदान गर्न आग्रह गरेकी हुन्।

'आउँदो फागुन २१ गतेका दिन हामीले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्नेछौँ। मैले यो जिम्मेवारी सम्हाल्दाको समय तपाईंहरू सबैलाई सम्झना नै छ। जेन-जी आन्दोलनपछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो। सडकमा युवाहरूको आक्रोश थियो, सबैको मनमा डर थियो र देशकै भविष्य अन्योलमा थियो। त्यो कठिन संक्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्‍याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो' उनले भनेकी छिन्। 

'आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ। विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ। यो उपलब्धि तपाईँ-हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो' उनले भनेकी छिन्। 

मतदाताहरूसँग आग्रह गर्दै उनी भन्छिन्, 'देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस्। भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन। यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो।'

फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन प्रधानमन्त्री कार्कीले आग्रह गरेकी छिन्। 

निर्वाचनको सँघारमा सबैलाई शान्ति र अमनचयन कायम राख्न प्रधानमन्त्रीको अनुरोध छ।

'म चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु। तपाईँहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो। साथै मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढंगले, एक-अर्कालाई सम्मान गर्दै निर्वाचन प्रचार-प्रसार गर्न म सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई आग्रह गर्दछु' उनले भनेकी छिन्। 

'यस कार्यमा खटिनुभएका निर्वाचन आयोग, सुरक्षा निकायका साथीहरू र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु। तपाईँहरूको निष्पक्षता र मेहनतले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ। निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको छ। निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध छन्' उनले भनेकी छिन्।


प्रकाशित : सोमबार, फागुन १८ २०८२१२:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend