शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

उम्मेदवारसँग माग राख्न नपाउँदा निराश छन् बादी समुदाय

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १८ २०८२
उम्मेदवारसँग माग राख्न नपाउँदा निराश छन् बादी समुदाय

गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्याले आक्रान्त बडुवाल टोलस्थित सीमान्तकृत समुदाय न राज्यको प्राथमिकतामा पर्‍यो, न त दल र उम्मेदवारका।

कञ्चनपुर- मुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी-३ स्थित बादी बस्ती सुनसान छ।

निर्वाचनको मिति नजिकिँदा दल तथा उम्मेदवार मतदाता रिझाउन व्यस्त छन्। तर गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्याले आक्रान्त बडुवाल टोलस्थित सीमान्तकृत समुदाय न राज्यको प्राथमिकतामा पर्‍यो, न त दल र उम्मेदवारका।

झन्डै तीन दशकदेखि बसोबास गर्दै आएको यो बस्तीमा बादी समुदायसहित अन्य समुदायका एक सय बढी घर परिवारको बसोबास छ। भारतमुखी रोजगारी र दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका यहाँका मतदाताको आशा थियो, निर्वाचनमा दल तथा उम्मेदवारहरूले आफ्ना प्रतिबद्धतामा बादी समुदायलाई छुने खास योजना तथा कार्यक्रम ल्याउनेछन्।

तर त्यो आश निराशामा परिणत मात्रै भएन, भोट माग्नसमेत उम्मेदवारहरू बस्तीमा नपुगेपछि बादी समुदाय निराश छन्। 'अहिलेसम्म हाम्रो बस्ती कोही नेता भोट माग्न आएनन्,' यहाँका स्थानीय बिरभाने वादीले भने, 'यहाँ जंगली जनावरको डरले राति भाग्नुपर्ने अवस्था छ नेता नआउँदा हाम्रो माग राख्न पाएनौँ।'

उम्मेदवाहरू बस्तीमा नपुग्दा यहाँका स्थानीयलाई चुनावले छोएको छैन। भारतसँग सीमा जोडिएको यो बस्तीमा गरिबी, अशिक्षा, बेरोजगारी, हात्ती आतंक, बाढी तथा कटान, सुकुम्वासी समस्या, अवैध तस्करी र सीमा विवाद प्रमुख समस्याका रूपमा रहेको यहाँकी स्थानीय सीता बादीले बताइन्।

'हाम्रो समस्या धेरै छन् उम्मेदवारहरू भोट माग्न आएनन् हामीले पनि हाम्रो पीडा सुनाउँथ्यौँ,' उनले भनिन्, 'सिमानामा हामी धेरै समस्या सहेर बसेका छौँ।'

हरेक चुनावमा भोट माग्न पुग्ने दल तथा उम्मेदवारहरू यसपटक घरदैलोमा नआएपछि बादी समुदाय माग राख्न नपाएकामा दुःखी छन्। सीमानाकाको बस्तीमा अनेक दुःख सहेर पनि सीमाको रक्षाका लागि यहाँ बसोबास गरिरहेको उनको भनाइ छ।

'आर्थिक अवस्था कमजोर हुँदा यहाँका बालबालिका पढाइ छोडेर रोजगारीका लागि भारत जान बाध्य छन्,' यहाँका स्थानीय रेशम बादीले भने, 'चुनावमा नेताहरू आउलान् र हाम्रो माग राखौँला भन्ने थियो भोट माग्न नेता नै आएनन्।'

राष्ट्रिय जनगणना, २०७८ अनुसार सुदूरपश्चिममा बादी समुदायको जनसङ्ख्या दुई हजार ५८० जना छ भने कञ्चनपुरमा मात्रै ४५८ जना छन्। गरिबी, भूमिहीन र अशिक्षाका कारण यो समुदायको अवस्था दयनीय छ। रासस


प्रकाशित : सोमबार, फागुन १८ २०८२१०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend