नवलपरासी- नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अघिल्लो निर्वाचनको परिस्थितिलाई स्मरण गर्दै आफूमाथि लगाइएका निराधार आरोपहरूलाई जनताको विश्वासले परिवर्तन गरिदिएको बताएका छ्न्।
तत्कालीन समयमा आफूलाई विभिन्न संज्ञा दिइएकाले कठिन मोडमा समेत जनताको साथले आफू निर्वाचित भएको उनले बताए। बर्दघाट नगरपालिका-७ जिमिरेभारमा आयोजित कोण सभामा बोल्दै उनले आफू अहिले यहीँको बासिन्दा भएको भन्न पाउँदा गर्वको अनुभूति हुने बताए।
कठिन मोडमा समेत आफूलाई विश्वास गरेर जनताको घरदैलोमा पुर्याइँदा त्यो समयले एउटा उम्मेदवारको कथा मात्रै नभइ यो क्षेत्र नै विश्वमा चिनिएको उनको भनाइ थियो। आफूले सामुदायिक स्कुलमा पढेर विद्यार्थी जीवन सुरु गरेको स्मरण गर्दै यहाँका नागरिकसँग घुलमिल हुन कुनै लगुताभास नरहेको उनले स्पष्ट पारे।
'म चटाईमा बसेको छु,खटियामा बसेको छु,चोक चौतारीमा बसेको छु जस्तो परिस्थितिमा पनि म घुलमिल हुन सक्छु भन्ने मलाई लाग्छ,यी कुराका अघि प्राइभेट जेटले पनि महत्व राख्दैनन्, म अझै पनि भुइँमै त्यतिकै सन्तुष्टिका साथ बस्न सक्छु,' उनले भने। सोही कारण केही विकृत मानसिकताले लगाएका निधार आरोपहरू चिर्न आफू सफल भएको उनले बताए।
यो क्षेत्रसँग जोडिदा आफुलाई ठूलो जिम्मेवारी बोध भएको उल्लेख गर्दै उनले समग्र क्षेत्रको विकासलाई डोर्याउन आफू सफल हुने विश्वास व्यक्त गरे। गरिएका राम्रा कामहरूबाट आफ्नो राजनीति ओझेल पर्ने त्रासले विभिन्न लान्छनाहरू लगाउने खेल सुरु भएको भन्दै उनले त्यस्ता भ्रमहरूमा नपरी गगन थापाको नेतृत्वमा बदलिएको कांग्रेसलाई मदतान गर्न आग्रह गरे।
'अझै धेरै काम गर्न बाँकी छ। विगतका दिनमा केही सीमाहरू रहे। अब बाँकी रहेका अधुरा विकास निर्माणलाई अघि बढाउनु छ। छेक्नेहरूआउँछन् तर त्यसलाई चिर्दै अघि बढ्नु छ। मैले जानेकै यही हो,' चौधरीले भने। आफूले नवलपुरमा औद्योगिक ग्राम र शाश्वतधाम बनाएको उल्लेख गर्दै अबको जिम्मेवारी यो क्षेत्रका लागि रहने प्रतिबद्धता उनले व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कुलदीप आचार्यले विगतका दिनमा पार्टी एक नभएको परिस्थितिमा उम्मेदवार चौधरीको क्षमता र दक्षताको उचित सदुपयोग हुन नसकेकाले अबको निर्वाचनमा चौधरीलाई विजयी गराई विकासको ढोका खोल्न आग्रह गरे। अहिले सिंगो पार्टी एकढिक्का भएको र कुनै गुट-उपगुट नरहेको भन्दै कांग्रेसको नेतृत्वमा समृद्ध नवलपरासीको खाका बोकेर चुनावी मैदानमा होमिएको उनले बताए।
