काठमाडौं- इरानका सैन्य बेसमा अमेरिका र इजरायलले गरेको पछिल्लो आक्रमणपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढ्ने अनुमान गरिएको छ। जसका कारण विश्व अर्थतन्त्रमै यसको नकारात्मक असर देखिने अनुमानहरु हुन थालेका छन्।
उक्त हमलाको प्रत्यक्ष पहिलो प्रभाव कच्चा तेलमा देखिने छ। शनिबार इजरायलले इरानमाथि हमला सुरु गरेको थियो। त्यसको भोलिपल्ट आइतबार नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब ३ प्रतशितले वृद्धि देखिएको छ।
मध्यपूर्व तनावको प्रभाव लम्बिए अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघ्न सक्ने अनुमान विज्ञहरूले गरेका छन्। मध्यपूर्वमा बढ्दो तनावले आपूर्ति शृङ्खलामा अवरोध पुग्ने डरले ऊर्जा बजारमा हलचल मच्चिएको छ।
इजरायलको सैन्य प्रतिकारपछि 'ब्रेन्ट क्रूड'को मूल्यमा तत्कालै ३ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। आइतबार साँझसम्ममा अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य प्रति ब्यारेल ९० डलर को नजिक पुगेको छ।
इजरायल र इरानबीचको प्रत्यक्ष द्वन्द्वले लगानीकर्ताहरूमाझ त्रास फैलिएको छ। यदि यो तनाव अझै बढ्दै गएमा र इरानले तेल आपूर्तिको मुख्य मार्ग 'स्ट्रिट अफ हर्मुज' बन्द गर्ने वा तेल खानीहरूमा क्षति पुग्ने स्थिति आएमा तेलको मूल्यमा ठूलो उछाल आउने निश्चित छ।
इरानले यो समुद्री मार्ग बन्द गरिदिएमा विश्वको कुल तेल आपूर्तिको झन्डै २० प्रतिशत हिस्सा रोकिनेछ। यस्तो अवस्थामा तेलको मूल्यमा अनियन्त्रित वृद्धि हुनेछ। किनकि यो मार्ग साउदी अरब, युएई र कुवेत जस्ता ठूला उत्पादकहरूको लागि मुख्य निकास मार्गका रुपमा रहेको छ।
विभिन्न बजार विश्लेषकहरूका अनुसार वर्तमान परिस्थिति 'पर्ख र हेर' को अवस्थामा छ। यद्यपि धेरैले के चेतावनी दिएका छन् भने यदि इरानको तेल पूर्वाधारलाई लक्षित गरियो भने विश्वव्यापी आपूर्तिमा दैनिक लाखौँ ब्यारेलको अभाव हुन सक्छ।
यस्तो अवस्थामा तेलको मूल्य १०० डलर मात्र नभइ त्योभन्दा पनि माथि जान सक्ने सम्भावना छ। गोल्डम्यान सक्सलगायतका अनुसार तेलको मूल्यमा पहिले नै 'रिस्क प्रिमियम' (जोखिम बापतको थप मूल्य) जोडिन थालिसकेको छ। यदि इरानको उत्पादनमा असर परेमा मूल्य ५ देखि १० डलरसम्म वा योभन्दा बढी थप बढ्न सक्छ।
त्यस्तै एएनजेड बैंकका विश्लेषकहरुले मध्यपूर्वमा बढेको यो भू-राजनीतिक तनावले आपूर्ति शृङ्खला निकै कमजोर बनाएको र बजारमा अनिश्चितता छाएको बताएका छन्।
तेलको मूल्य वृद्धिले विश्वभर मुद्रास्फीति (महँगी) बढाउने जोखिम हुन्छ। विशेषगरी भारत जस्ता देशहरू जो आफ्नो आवश्यकताको ठूलो हिस्सा आयातमा निर्भर छन्, उनीहरूका लागि यो चुनौतीपूर्ण हुन सक्छ। इन्धनको मूल्य बढ्दा ढुवानी खर्च बढ्ने र यसले समग्र उपभोग्य वस्तुको मूल्यमा वृद्धि ल्याउने छ।
भारत र अन्य आयातकर्ता राष्ट्रमा असर
भारतलगायत देशहरू जसले आफ्नो आवश्यक तेलको ८५ प्रतिशतभन्दा बढी आयात गर्छन् उनीहरूका लागि यो खबर चिन्ताजनक हो।
कच्चा तेल महँगो हुँदा विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने आन्तरिक बजारमा पेट्रोल र डिजेलको मूल्य बढ्ने र ढुवानी खर्च महँगो भइ दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने (मुद्रास्फीति) सम्भावना उच्च हुन्छ। यसरी तेलको मूल्य वृद्धि हुँदा नेपालजस्तो देशमा पनि प्रत्यक्ष प्रभाव देखिने छ। नेपालमा आयात हुने सम्पूर्ण तेल भारतबाट आउँछ।
अहिले बजारको ध्यान इरानको अर्को कदममा छ। यदि इरानले थप सैन्य कारबाही गरेमा वा ओपेक राष्ट्रहरूले उत्पादन नबढाएमा तेलको भाउले नयाँ उचाइ लिने निश्चित छ।
अमेरिकाले पनि आफ्ना रणनीतिक भण्डारबाट तेल निकालेर मूल्य नियन्त्रण गर्ने प्रयास गर्न सक्छ। तर त्यसको प्रभाव कति हुन्छ भन्ने कुरा युद्धको अवस्थामा भर पर्नेछ।

