शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

खोटाङमा २१ मतदानस्थल अति संवेदनशील

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १७ २०८२
खोटाङमा २१ मतदानस्थल अति संवेदनशील

प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङबाट १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

खोटाङ- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यतर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ भने एक लाख ४७ हजार १२० मतदाता छन्। 

जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ अति संवेदनशील, ६४ संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिकी संयोजक एवं प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्। संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको उनले बताइन्। 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा खोटाङबाट १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट डा हरि रोका, नेपाली कांग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट देवविक्रम राई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा) बाट राकेश राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दीपक तामाङको उम्मेदवारी परेको छ।

त्यस्तै जनता समाजवादी पार्टीबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट चन्द्र बुढाथोकी, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई, मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ, राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

यहाँका उम्मेदवारले ग्रामीण क्षेत्रको विकाससँगै स्वास्थ्य, शिक्षा, श्रम, वैदेशिक रोजगारलगायत क्षेत्रमा सुधार गर्दै सुशासन कायम गराउने प्रतिबद्धता जनाएका छन्। किसानका समस्या समाधान गर्ने नीति निर्माण गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, भ्रष्टाचार अन्त्यका लागि योजनाबद्ध काम गर्ने, कला, संस्कृति र भाषाको संरक्षण र प्रवर्द्धनमा जोड दिनेलगायत एजेण्डा लिएर उम्मेदवार घरदैलो गरिरहेका छन्। मतदाताले पनि जनहितमा काम गर्नेलाई मतदान गर्ने बताउँदै आएका छन्। रासस


प्रकाशित : आइतबार, फागुन १७ २०८२१४:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend