काठमाडौं- इजरायल तथा इरानसहित खाडी मुलुकहरूमा देखिएको समस्यासँगै नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकहरूलाई इजरायल र इरानको यात्रा नगर्न आह्वान गरेको छ।
परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म नेपाली नागरिकलाई यात्रा स्थगन गर्न सुझाव दिएको छ।
‘इजरायल वा इरान यात्रा गर्ने योजना बनाएका नेपाली नागरिकहरूलाई दुवै देशको अवस्था सामान्य नहुँदासम्म आफ्नो यात्रा स्थगित गर्न कडाइका साथ सुझाव दिइन्छ,’ एडभाइजरीमा भनिएको छ।
सरकारले मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको भन्दै हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई सावधानीका उपायहरू अपनाउन भनेको हो।
‘इजरायल र इरानद्वारा जारी गरिएका सुरक्षा परामर्श तथा निर्देशनहरू कडाइका साथ पालना गर्नुहोस्,’ परराष्ट्र मन्त्रालयले एडभाइजरीमा भनेको छ, ‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस्, र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्।’
परराष्ट्र मन्त्रालयले इजरायल र इरानका सम्बन्धित निकायहरूको पूर्वअनुमतिबिना यात्रा नगर्न पनि भनेको छ।

