शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

प्रविधिमैत्री बन्दै काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालय

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन १६ २०८२
प्रविधिमैत्री बन्दै काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालय

गएको माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालयमा एकीकृत विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले काम प्रारम्भ गरी विद्यालय परिवारलाई प्रविधिमा आबद्ध गराएको हो।

काठमाडौं- काठमाडौं महानगरपालिकाले ३६ हजार २८० जना विद्यार्थी, शिक्षक र कर्मचारी एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराएको छ।

विद्यालयलाई प्रविधिमैत्री बनाउने कार्यअन्तर्गत काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र कार्यरत शिक्षक, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, आया तथा अन्य सबै प्रकारका कर्मचारी गरी ८३ वटा विद्यालयका ३६ हजार २८० जनालाई एकीकृत डिजिटल हाजिरी प्रणालीमा आबद्ध गराइएको काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख नमराज ढकालले जानकारी दिए।

गएको माघ १३ गते कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालयमा एकीकृत विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि शिक्षा विभाग र सूचना प्रविधि विभागले काम प्रारम्भ गरी विद्यालय परिवारलाई प्रविधिमा आबद्ध गराएको हो।

डाटा इन्ट्री गराउने, अद्यावधिक गराउने, प्रतिवेदन बनाउने क्षमता विकास गरिएपछि विद्यालयकै जनशक्तिबाट प्रणालीमा तथ्यांक प्रविष्ट गराइएको हो। शिक्षक, कर्मचारी र विद्यार्थी गरी कक्षा १० सम्मका करिब ४५ हजार संख्या रहेको काठमाडौं महानगरपालिका विभागका प्रमुख ढकालले जानकारी दिए।

विभागले २०८२ चैत १ देखि विद्यालयहरूमा पठाउने अनुदान तथा निकासा हाजिरी प्रणालीमा आबद्ध भएको तथ्यांक तथा अभिलेखका आधारमा पठाउने निर्णय गरेको थियो। यही फागुन १३ र १४ गते विभागले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग आयोजना गरेको बैठकमा उनले प्रणालीलाई प्रभावकारी कार्यान्वयन नगरे अनुदान रकम पठाउन नसकिने भएकाले बाँकी इहाजिरीको काम तत्काल सक्न आग्रह गरे।

विद्यालयहरूको भौतिक पूर्वाधार विकासका लागि पूर्वाधार सर्वेक्षणका काम भइरहेको छ। चालु आर्थिक वर्षमा यसका लागि ३६ करोड रुपैयाँ विनियोजन गरिएको छ। विभागका प्रमुख ढकालका अनुसार पहिलो चरणमा ४ वटा, दोस्रो चरणमा ११ वटा विद्यालयको पूर्वाधार गुरुयोजना तयार भएको छ। तेस्रो चरणमा २३ वटा विद्यालयहरूको विस्तृत परियोजना प्रतिवेदन तयारी गर्ने कार्य भइरहेको छ।

विसं २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई लक्ष्य गरी पहिलो चरणमा ६ वटा र दोस्रो चरणमा पाँच गरी ११ वटा विद्यालयमा विषय विज्ञ तथा स्रोत शिक्षकबाट विशेष तयारी कक्षाहरू सञ्चालन गरिरहेको छ। यसबाहेक अन्य विद्यालयहरूले पनि विशेष कक्षाका लागि लिखित माग गरेमा शिक्षा विभागले कक्षाको व्यवस्थापन गर्ने भएको छ।

२०८२ चैत मसान्तसम्म दरबन्दी मिलान सम्पन्न गरेर नयाँ शैक्षिक सत्र २०८३ वैशाखदेखि दरबन्दीअनुसारको शिक्षक विद्यालयहरूमा व्यवस्थापन गर्ने तयारी काठमाडौं महानगरपालिकाको छ। रासस


प्रकाशित : शनिबार, फागुन १६ २०८२११:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend