काठमाडौं- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ।
मतपत्र, मतपेटिका तथा निर्वाचन सामग्री सबै जिल्लामा पुर्याइसकिएको सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।
मतदाता शिक्षा कार्यक्रम ७५३ स्थानीय तहका छ हजार ७४३ वटै वडामा जारी छ। स्वयमसेवक परिचालन गरी फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम फागुन १७ गतेसम्म जारी रहनेछ। मतदान केन्द्रका लागि खटिएका कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन्।
मतदान केन्द्र रहेका विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयलगायतका भौतिक संरचना मतदान कार्यमा उपयोग गर्नका लागि उपलब्ध गराइदिन नेपाल सरकार र सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिसकिएको पनि उनले बताए।
निर्वाचन सुरक्षा, अत्यावश्यक सेवाको सञ्चालन र सहजीकरण, निर्वाचन र मतदान प्रक्रियामा समन्वय र व्यवस्थापनका क्षेत्रमा आवश्यक निर्णय आयोगबाट भइसकेको छ।
