काठमाडौं- प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। १६५ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा चर्किँदै जाँदा केही क्षेत्र विशेष राजनीतिक चासोको केन्द्रमा छन्। तीमध्ये एक हो रुपन्देही २, जहाँ यसपटक त्रिकोणात्मक प्रतिस्पर्धाले राष्ट्रियस्तरमै ध्यान तानेको छ।
रुपन्देही २ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका तर्फबाट चुन्नुप्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल चुनावी मैदानमा छन्। त्यस्तै भदौ २३/२४ गतेको आन्दोलनपछि चर्चामा आएका निकोलस भुषालले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
एमाले नेता विष्णु पौडेलले जित्दै आएको यो क्षेत्र यसपटक सहज देखिएको छैन। २०७९ सालको निर्वाचनमा साँघुरो मतान्तरले जित निकालेका पौडेल यसपटक क्षेत्र परिवर्तन गर्ने सोचमा थिए। पाल्पातर्फ जाने तयारीसमेत गरेका उनी अन्ततः कार्यकर्ताको दबाबपछि पुनः रुपन्देही २ मै फर्किएका हुन्।
एउटै अनुहार पटकपटक दोहोरिँदा मतदाता बेखुस देखिएको विश्लेषण भइरहेको छ। विगतमा गरिएका वाचा पूरा नभएको गुनासो र युवापुस्तामाझ एमालेको छविले पौडेलमाथि चुनौती थपेको छ।
रास्वपाका सुलभ खरेल सामाजिक सञ्जाल र सडक प्रदर्शनमा देखिएको समर्थनका कारण चर्चामा छन्। तर भौतिक उपस्थितिलाई रुपान्तरण गर्न उति सहज देखिँदैन। रास्वपाभित्र पनि पुराना कार्यकर्ता पंक्तिमा केही असन्तुष्टि छ। त्यसलाई चिर्ने चुनौती खरेलसँग छ।
कांग्रेसबाट उम्मेदवारी दिएका चुन्नुप्रसाद पौडेल उद्योग, कृषि, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा संलग्न पृष्ठभूमिका उम्मेदवारका रूपमा प्रस्तुत भएका छन्। ‘आर्थिक विकास र रोजगारी’लाई मुख्य एजेन्डा बनाउँदै उनी मैदानमा उत्रिएका छन्।
कांग्रेसले संगठनात्मक पुनर्संरचना र पुस्तान्तरणको सन्देश अघि सारेको सन्दर्भमा रुपन्देही २ लाई अवसरका रूपमा हेरेको छ। स्थानीयस्तरमा स्थापित छवि र नेटवर्कका कारण कांग्रेसका लागि यसपटक परिणाम अनुकूल हुन सक्ने दाबी पार्टी पंक्तिमा रहेको देखिन्छ।
रुपन्देही २ मा यसपटकको प्रतिस्पर्धा पुरानो संस्थापन, नयाँ लहर र स्थानीय प्रभावबीचको बहुआयामिक संघर्षका रूपमा विकसित भइरहेको छ। मतदाताको अन्तिम निर्णयले मात्र यहाँको राजनीतिक सन्तुलन कता ढल्किन्छ भन्ने स्पष्ट हुनेछ।
