काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सले 'सिटिजन लिडर डिस्कोर्स' नामक प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको छ। फागुन ६ गते होटल पोखरा ग्रान्डमा सम्पन्न कार्यक्रममा करिब ४० मिनेट अवधिको विशेष प्यानल डिस्कोर्स सत्र सञ्चालन गरिएको थियो। कार्यक्रमको सहजीकरण कम्पनीका तालिम विभाग प्रमुख कुबेर पाठकले गरेका थिए।
कार्यक्रममा कम्पनीका सिटिजन लिडर्सहरू ईश्वरीप्रसाद बराल, टुकबहादुर राना, सुरेशबाबु शर्मा, राजु श्रेष्ठ र लक्ष्मी लामिछानेले प्यानलिस्टको रूपमा सहभागिता जनाएका थिए। छलफल सफलता, वृत्ति विकास, नियुक्ति तथा नीतिगत निरन्तरता जस्ता विषयहरूमा केन्द्रित थियो।
प्यानल छलफलमा टुकबहादुर रानाले पछिल्लो समय बढ्दै गएको व्यतीत बीमालेखलाई सम्पूर्ण एजेन्सी व्यवसायको साझा चुनौतीका रूपमा प्रस्तुत गर्दै केवल बिक्रीमा होइन नीतिगत निरन्तरतामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए। उनले पोस्ट-ट्रेनिङ फलो-अप सिस्टम, सेल्फ-लर्निङ कल्चर, क्लाइन्ट सर्भिसिङ क्यालेन्डर र रिन्युवल रिमाइन्डर मेकानिजम जस्ता व्यावहारिक समाधानहरू सुझाउँदै 'बिक्रीभन्दा पनि दीर्घकालीन सम्बन्ध निर्माण नै हाम्रो लक्ष्य हुनुपर्छ' भन्ने धारणा राखे।
ईश्वरीप्रसाद बरालले आफ्नो २१ वर्षको अनुभव साझा गर्दै बीमालाई केवल पेसा होइन यसको मूल्य र सामाजिक जिम्मेवारी बुझ्न समय लाग्ने यथार्थ प्रस्तुत गरे। ग्रामीण क्षेत्रमा सम्बन्धमा आधारित विश्वास, बढ्दो वित्तीय सचेतना तथा एजेन्टको प्रत्यक्ष पहुँचका कारण बीमा व्यवसाय अझ प्रभावकारी हुने उल्लेख गर्दै 'जहाँ विश्वास बलियो छ, त्यहाँ बीमा सहज हुन्छ' भन्ने सन्देश दिए।
लक्ष्मी लामिछानेले बीमालाई पूर्ण रूपमा विश्वासमा आधारित पेशा भएको उल्लेख गर्दै महिलाहरू यस क्षेत्रमा अत्यन्त सफल हुन सक्ने बताइन्। महिलामा रहेको जिम्मेवारीबोध, संवेदनशीलता र परिवारप्रतिको सोचले परिवार केन्द्रित सुरक्षा सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न सकिने उनको धारणा थियो। उनले 'महिलाको संवेदनशीलता र जिम्मेवारीपन नै बीमा व्यवसायको शक्ति हो' भन्ने दृष्टिकोण प्रस्तुत गरिन्।
सुरेशबाबु शर्माले नेपालमा अझै ठूलो जनसंख्या बीमाको दायराबाहिर रहेको तथ्य प्रस्तुत गर्दै बीमाको पहुँच विस्तारमा अभिकर्ताको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए। अभिकर्ता केवल विक्रेता नभई वित्तीय प्रशिक्षक, जोखिम सल्लाहकार, पारिवारिक संरक्षकको भूमिकामा रहनुपर्ने उल्लेख गर्दै 'हरेक घरमा बीमा, हरेक परिवारमा सुरक्षा'लाई साझा मिसन बनाउनुपर्ने धारणा राखे।
त्यसैगरी राजु श्रेष्ठले बदलिँदो सामाजिक परिवेशमा आजको आवश्यकताअनुसारको अभिकर्ता कस्तो हुनुपर्छ भन्ने विषयमा आफ्नो विचार राखे। डिजिटल रूपमा सचेत र तुलना गर्ने ग्राहकको युगमा अब केवल पोलिसी बेच्ने होइन, व्यावसायिक वित्तीय परामर्शदाताका रूपमा अभिकर्ता रूपान्तरण हुनुपर्ने आवश्यकता उनले औँल्याए।
सिटिजन लाइफ इन्स्योरेन्सले नेतृत्व विकास, पारदर्शी संवाद र पेशागत सशक्तीकरणलाई प्राथमिकता दिँदै बीमा क्षेत्रमा नयाँ अभ्यासहरू स्थापना गर्दै आइरहेको छ।
