काठमाडौं- नेपाल वायुसेवा निगमको अर्धवार्षिक कार्यसम्पादनमा उत्साहजनक सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुससम्मको आम्दानी र यात्रु संख्या गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा उल्लेखनीय वृद्धि भएको तथ्यांकले देखाएको छ।
उक्त अवधिमा निगमको कुल आम्दानी करिब ७ प्रतिशतले वृद्धि भएको छ भने यात्रु संख्या करिब १८ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ। उपलब्ध जहाजहरूको अधिकतम उपयोग गर्दै विभिन्न गन्तव्यमा नियमित र प्रभावकारी उडान सञ्चालन गरिएकाले आम्दानी तथा यात्रु संख्या दुवै वृद्धि भएको निमगले जनाएको छ।
जनवरीदेखि मार्चसम्मको अवधिमा निगमका अधिकांश उडानहरू प्रशस्त यात्रुसहित उडान भरिरहेका छन्। निगमले आगामी दिनमा सेवा विस्तार तथा बजार व्यवस्थापनलाई अझ सुदृढ गर्दै वृद्धि दरलाई निरन्तरता दिने लक्ष्य लिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। रासस
