शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

काँकडभिट्टाबाट ७ महिनामा ११ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १३ २०८२
काँकडभिट्टाबाट ७ महिनामा ११ अर्ब ५२ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व ६ दशमलव ७० प्रतिशतले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए।

झापा- चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा पूर्वी नाका काँकडभिट्टाबाट ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ६० करोड २० लाख १० हजार रुपैयाँले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ। आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व ६ दशमलव ७० प्रतिशतले बढेको सूचना अधिकारी हुमागाईंले जानकारी दिए।

कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिनामा पेट्रोलियम पदार्थ आयातबाट ५ अर्ब ६३ करोड ४५ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको छ। उक्त अवधिमा ५ अर्ब ५३ करोड ४१ लाख रुपैयाँको ६२ हजार ९३२ किलोलिटर पेट्रोल आयात भएको थियो। यसैगरी ३ अर्ब ८१ करोड २८ लाख रुपैयाँको ४० हजार ३५२ किलोलिटर डिजेल आयात भएको छ।

त्यस्तै उक्त अवधिमा १ अर्ब ४६ करोड ३१ लाख रुपैयाँको १४ हजार ९९९ मेट्रिकटन एलपी ग्यास, ४३ करोड ५८ लाख रुपैयाँको ४ हजार ७३६ किलोलिटर एटीएफ र ११ करोड ३० लाख रुपैयाँको १ हजार २१२ किलोलिटर मट्टितेल आयात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिए। रासस


प्रकाशित : बुधबार, फागुन १३ २०८२१५:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend