काठमाडौं- नेपालको अग्रणी तथा प्रतिष्ठित व्यावसायिक घराना पद्मज्योति ग्रुपले ‘रिच्स इन्डिया’सँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ। यससँगै नेपालको फुडसर्भिस तथा कुलिनरी क्षेत्रको विकास र विस्तारमा योगदान पुर्याउने दुवै कम्पनीले प्रतिबद्धता व्यक्त गरेका छन्।
‘रिच्स’ले विगत दुई दशकदेखि नेपालमा आफ्नो उपस्थिति जनाउँदै आए तापनि यो नयाँ सम्झौताले ग्राहकहरूसँगको गहिरो सम्बन्ध, सेफहरूको क्षमता अभिवृद्धि र नेपाली बजार सुहाउँदो विश्वव्यापी कुलिनरीका नयाँ ट्रेन्डहरू भित्र्याउन विशेष रणनीतिक भूमिका खेल्ने कम्पनीको विश्वास छ।
सन् १९४५ मा स्थापित ‘रिच्स’ ८० वर्षभन्दा लामो विश्वव्यापी विरासत बोकेको एक पारिवारिक खाद्य कम्पनी हो, जसले भारतमा मात्रै ३० वर्षभन्दा बढी समयदेखि सेवा दिइरहेको छ। ‘नन-डेयरी ह्विप्ड टपिङ’को उत्पादनमा विश्वमै अग्रणी मानिने यस कम्पनीले आधुनिक बेकरी, डेजर्ट र फुडसर्भिसको क्षेत्रलाई नयाँ आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको छ। यस कम्पनीले उपभोक्ताको बदलिँदो चाहना र आवश्यकतालाई ध्यानमा राख्दै इनोभेसन, गुणस्तर र साझेदारीमा निरन्तर लगानी गर्दै आएको छ।
पद्मज्योति ग्रुपसँगको यो विस्तारित सहकार्य परम्परागत वितरण प्रणालीमा मात्र सीमित छैन। यसले ग्राहकको अनुभवलाई उत्कृष्ट बनाउन सेफहरूसँगको प्रत्यक्ष समन्वय, प्रयोगात्मक प्राविधिक तालिम र ज्ञान आदानप्रदानमा विशेष जोड दिनेछ। यस पहलको मुख्य उद्देश्य ‘रिच्स’ को विश्वस्तरीय प्राविधिक विशेषज्ञता र उत्पादनको सही प्रयोगबारे नेपालभरका सेफ, बेकर र फुडसर्भिस सञ्चालकहरूलाई जानकारी गराउनु हो। यसबाट उनीहरूले विश्वव्यापी नयाँ ट्रेन्डहरू अपनाउन, खानाको स्वाद र गुणस्तरमा एकरूपता ल्याउन तथा आफ्नो मेनुलाई अझै उत्कृष्ट र नयाँपन दिन सक्नेछन्।
यस अभियानलाई सफल बनाउन पद्मज्योति ग्रुपले आफ्नो मजबुत पूर्वाधार, स्थापित वितरण सञ्जाल र नेपाली बजारको गहिरो बुझाइलाई पूर्ण रूपमा उपयोग गर्ने जनाएको छ। यो सहकार्यले आधुनिक रिटेल, बेकरी र हस्पिटालिटी क्षेत्रलाई उच्च गुणस्तरका उत्पादनहरू मात्र नभई प्राविधिक मार्गदर्शन, लाइभ डेमोस्ट्रेसन (प्रत्यक्ष प्रदर्शन) र निरन्तर सहयोगसमेत प्रदान गर्नेछ। यसले ग्राहक र साझेदारहरूका लागि दीर्घकालीन मूल्य र प्रतिफल सुनिश्चित गर्ने कम्पनीको विश्वास छ।
पद्मज्योति ग्रुप सन् २००७ मा ‘सन इन्टरनेशनल इन्कर्पोरेटेड प्रालि’मार्फत एफएमसीजी क्षेत्रमा प्रवेश गरेको थियो। त्यसयता एसआईआईपीएलले आइसक्रिम र फ्रोजन डेजर्टको क्षेत्रमा आफूलाई मजबुत रूपमा स्थापित गर्दै नेपालभर आफ्नो वितरण सञ्जाल तीव्र रूपमा विस्तार गरिरहेको छ। हस्पिटालिटी र रिटेल क्षेत्रमा लामो अनुभव भएको एक समर्पित र तालिमप्राप्त टिमको साथले गर्दा कम्पनीलाई ब्रान्ड निर्माण र प्रभावकारी ग्राउन्ड लेभलको सेवा प्रवाहमा ठूलो सफलता मिलेको छ।
नेपाली उपभोक्तालाई विश्वस्तरको उत्कृष्ट (गउर्मेत ) परिकारको अनुभव प्रदान गर्दै नवीनतम खाद्य समाधानहरू ल्याउनु नै एसआईआईपीएलको मुख्य दर्शन हो। पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योतिको कुशल नेतृत्वमा यस संस्थाले नेपाली बजारको बदलिँदो जीवनशैली, स्वाद र आकांक्षाहरूलाई सम्बोधन गर्दै निरन्तर उच्च गुणस्तरका समसामयिक खाद्य उत्पादनहरू भित्राउन ध्यान केन्द्रित गर्दै आएको छ।
यस सहकार्यका बारेमा बोल्दै रिच्स इन्डिया मध्यपूर्व र टर्कीका प्रबन्ध निर्देशक पंकज चतुर्वेदीले यो साझेदारीले सिर्जनशीलतालाई प्रेरित गर्न, गुणस्तरमा एकरूपता ल्याउन र नेपालको विकसित हुँदै गइरहेको फुडसर्भिस क्षेत्रको निरन्तर प्रगतिमा अर्थपूर्ण भूमिका खेल्ने बताए।
पद्मज्योति ग्रुप र रिच्स इन्डियाबीचको यो विस्तारित सहकार्यले नेपालको पाककला र हस्पिटालिटी क्षेत्रलाई नयाँ दिशा र उचाइ दिने दाबी गरिएको छ। विश्वस्तरीय विशेषज्ञता र स्थानीय बजारको मजबुत सञ्जालको यो संगमले देशैभर उत्कृष्ट उत्पादन, गहिरो प्राविधिक ज्ञान र उत्कृष्ट खाद्य अनुभव प्रदान गर्ने सम्बन्धित कम्पनीहरूले जनाएका छन्।
