काठमाडौं- चुनावको तयारीमा राज्य प्रशासन केन्द्रित भइरहँदा राजस्व चुहावट तथा अवैध व्यापार बढ्ने जोखिम सधैँ हुन्छ। अहिले पनि राज्यका सबै निकायको ध्यान निर्वाचनमै जाँदा त्यसको फाइदा लिने समूह सक्रिय हुने जोखिम बढेको छ।
चुनावको माहौल बनिरहँदा त्यसको मौका छोपेर बस्नेहरूको गतिविधिलाई पनि ध्यानमा राख्दै राजस्व चुहावट नियन्त्रणका लागि राज्यका निकायहरूले भने सँगसँगै तयारी अघि बढाएका छन्।
अवैध ओसारपसार तथा देशभित्रै पनि अन्य राजस्व छलीका लागि हुनसक्ने सम्भावित गतिविधिमाथि झन कडाइका साथ नजर राख्नेगरी संयन्त्र परिचालन भइरहेको अधिकारीहरूले बताएका छन्।
राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षा निकाय तथा प्रशासनिक निकायबीचमा निरन्तर छलफल तथा समन्वय भइरहेको बताउँछन् अर्थसचिव घनश्याम उपाध्याय। निर्वाचनको तयारी पहिलो प्राथमिकतामा भएपनि राजस्व चुहावट नियन्त्रणको विषय नियमित दायित्वलाई छाड्ने भन्ने कुरा नहुने उनको भनाइ छ।
यस्तो समयमा मौकाको फाइदा उठाउने समूह सधैँ सक्रिय हुन्छन्। विशेषगरी निर्वाचनका लागि नाका बन्द नहुँदासम्म सुरक्षाको स्रोत निर्वाचनमा धेरै केन्द्रित भएको मौकामा फाइदा उठाउनेहरू हुन्छन्।
निर्वाचनको समयमा राजस्व चुहावट नियन्त्रणका लागि विशेष निगरानी तथा सतर्कता अपनाउँदै आइएको छ।
यो पालि पनि त्यस्तो सक्रियता तथा सावधानीलाई कायम राखिएको बताउँछन् आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल। दाहालले अहिलेको समयमा हुनसक्ने अवाञ्छित गतिविधिलाई थप विशेष निगरानी बढाइएको र सबै पक्षको समन्वय भइरहेको बताए।
सामान्य समयको तुलनामा धेरै खपत तथा कारोबारमात्र होइन आयात पनि यस्तै समयमा हुन्छ। यस्तो समयमा माग भएका र आवश्यकमात्र होइन त्यही मेसोमा ल्याउन नहुने वस्तुको पनि आयात हुन सक्छ। देशभित्रकै कारोबारमा पनि गोलमाल हुने जोखिम सधैँ हुन्छ।

