काठमाडौं- सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि ४० लाख अमेरिकी डलरबराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि ४० लाख अमेरिकी डलरबराबरको नगद अनुदान स्वीकार गर्नेलगायतका निर्णय गरेको हो।
बैठकले चालु आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्णय गरेको छ।
काठमाडौं जिल्ला अदालतका जिल्ला न्यायाधीश डाक्टर दिवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने मन्त्रिपरिषदले निर्णय गरेको छ।
बीमा ऐन २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार जिल्ला अदालतलाई तोक्ने निर्णय पनि मन्त्रिपरिषद्बाट भएको छ।
आगामी वर्ष २०८३ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म एक वर्षभरी दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २० गतेदेखि २२ गतेसम्म मुलुकभर सार्वजनिक बिदा दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। यस्तै मन्त्रिपरिषदले जेनजी परिषद गठन गर्ने निर्णय पनि गरेको छ।

