काठमाडौं- नेपालको वित्तीय बजारमा पछिल्लो समय देखिएको अधिक तरलता र निरन्तर ओरालो लागिरहेको ब्याजदरको प्रत्यक्ष प्रभाव जीवन बीमा क्षेत्रमा देखिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधि साउनदेखि पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीहरूको नाफामा गिरावट आएको हो।
हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले यस अवधिमा कुल ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएका छन्। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.७३ प्रतिशतले घटेको हो। गत वर्षको पहिलो ६ महिनामा यी कम्पनीहरूले ३ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए।
कम्पनीहरूको व्यवसाय विस्तारको पाटो भने उत्साहजनक देखिएको छ। तथ्यांकअनुसार समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले ९३ अर्ब १८ करोड ५ लाख रुपैयाँभन्दा बढीको खुद बीमाशुल्क आर्जन गरेका छन्।
गत वर्षको सोही अवधिमा ८२ अर्ब ४ करोड ७० लाख रुपैयाँ मात्र बीमाशुल्क संकलन भएकोमा यस वर्ष १३.५७ प्रतिशत अर्थात् ११ अर्ब रुपैयाँभन्दा बढीको वृद्धि देखिएको छ। व्यवसायमा यसरी दाेहाेराे अंकको वृद्धि हुँदा पनि खुद नाफा घट्नुले बीमा क्षेत्रको लगानी व्यवस्थापनमा चुनौती थपिएको छ। यसको मुख्य कारण बैंकिङ क्षेत्रमा थुप्रिएको तरलता र त्यसले सिर्जना गरेको न्यून ब्याजदरको अवस्था हो।
जीवन बीमा कम्पनीहरूले आफ्नो लगानीको सबैभन्दा ठूलो हिस्सा अर्थात् करिब ६६ प्रतिशत रकम वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा केन्द्रित गरेका छन्। तथ्यांकअनुसार ५ खर्ब ४७ अर्ब ९९ करोड ६१ लाख रुपैयाँ बैंकहरूको मुद्दती निक्षेपमा थुप्रिएको छ।
नेपाल बीमा प्राधिकरणले निर्देशिकामार्फत कम्पनीहरूलाई आफ्नो कुल लगानीको कम्तीमा ३० प्रतिशत मात्र बैंकको मुद्दती निक्षेपमा लगानी गर्न पाउने सीमा तोकेको भए तापनि सुरक्षित लगानीको अन्य विकल्प नभएको भन्दै जीवन बीमा कम्पनीहरु बैंकमै आश्रित बनेको हुन्।
यो अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा ५२ प्रतिशतले घटेको छ गत आर्थिक वर्षमा ८० लाख भन्दामाथी खुद नाफा रहेको यो कम्पनीको यो आर्थिक वर्षमा ३८ लाख मात्रै खुद नाफा कमाएको छ। यो कम्पनीले अहिलेसम्म आफ्ना लगानीको ५३ प्रतिशत अर्थात ३४ अर्ब ४७ करोड ८७ लाख रुपैयाँ लगानी क वर्गको मुद्धती निक्षेपमा छ।
त्यसैगरी गत आर्थिक वर्षको तुलनामा हिमालयन लाइफको नाफामा ५४ प्रतिशत, नेपाल लाइफको २७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २७ प्रतिशत,र मेट लाइफको नाफा ८ प्रतिशतले घटेको छ। यी कम्पनीहरुको लगानी मुद्धती निक्षेपमा ५० प्रतिशतभन्दा धेरै छ।
नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी पूर्णबहादुर थापाका अनुसार जीवन बीमा व्यवसायले जोखिम रक्षा गर्ने मात्र नभइ अनिवार्य बचत पनि भएकाले यो प्रत्यक्ष बीमितसँग जोडिएको छ। जीवन बीमा कम्पनीहरुले अहिलेको समयमा लगानी विविधीकरण गर्नुपर्ने तथा अन्य क्षेत्रमा पनि लगानी बढाउनु पर्ने बताउँछन्। मुद्दती निक्षेपमा मात्रै लगानी गर्नु सहज भएपनि अहिले सुरक्षित र स्थिर प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्ने उनको भनाइ छ।
जब बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थाल्छन्। त्यसको सिधा असर जीवन बीमा कम्पनीहरूको इन्भेस्टमेन्ट इन्कम मा पर्दछ। जसले खुद नाफालाई खुम्च्याइदिन्छ।
पछिल्लो समय नेपालको बैंकिङ प्रणालीमा करिब १२ खर्ब रुपैयाँ बराबरको लगानीयोग्य रकम तरलता थुप्रिएको छ। तर निजी क्षेत्रको मनोबल खस्किएका कारण कर्जाको माग भने अत्यन्त न्यून छ। यो ६ महिनाको अवधिमा बैंकहरूको कर्जा प्रवाह जम्मा १ खर्ब ७२ अर्बमा सीमित भएको छ।
राजनीतिक अस्थिरता, नीतिगत अन्योल र आर्थिक मन्दीको डरका कारण उद्योगी व्यवसायीहरू नयाँ लगानी गर्न त्रसित देखिएका छन्। नेपाल राष्ट्र बैंकले बजारबाट तरलता प्रशोचन गर्न पुस महिनामा मात्रै २ खर्ब रुपैयाँ बराबरको बण्ड जारी गरे तापनि त्यसले ब्याजदरलाई स्थिर राख्न पर्याप्त भूमिका खेल्न सकेन। फागुन महिनासम्म आइपुग्दा अधिकांश वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा दिइने अधिकतम औसत ब्याजदर घटेर ४.५६ प्रतिशत कायम भएको छ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाका अनुसार यो समस्या केवल राष्ट्र बैंकले मौद्रिक औजार प्रयोग गरेर मात्र समाधान हुने खालको छैन। यसमा राज्यले नै विशेष चासो लिएर निजी क्षेत्रको खस्किएको मनोबल उकास्ने ठोस कार्यक्रम ल्याउनुपर्ने उनी बताउँछन्।
आगामी निर्वाचनको चर्चाले बजारमा केही अन्योल थपे पनि निर्वाचनपछि बन्ने स्थिर सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएमा मात्र कर्जाको माग बढ्ने र ब्याजदरमा सन्तुलन आउने उनको तर्क छ। राष्ट्र बैंकले नीतिगत रूपमा लचकता अपनाए पनि बजारमा माग सिर्जना नभएसम्म बैंकमा थुप्रिएको पैसाले उत्पादनशील क्षेत्रमा गति लिन सक्दैन।
बीमा कम्पनीहरूको लगानीको संरचना हेर्दा उनीहरूले अन्य क्षेत्रमा लगानी विविधीकरण गर्न खोजेको त देखिन्छ। तर त्यो पर्याप्त छैन। सरकारी ऋणपत्रहरू तुलनात्मक रूपमा सुरक्षित र स्थिर प्रतिफल दिने माध्यम भए पनि कम्पनीहरूले यसतर्फ जम्मा ३६ अर्ब ९६ करोड ३७ लाख रुपैयाँ मात्र लगानी गरेका छन्।
सरकार वा राष्ट्र बैंकको बचतपत्रमा ३५ प्रतिशतसम्म लगानी गर्न पाउने सुविधा हुँदाहुँदै पनि मुद्दती निक्षेपको तुलनामा प्रतिफल कम हुने र रकम लामो समयसम्म लकु हुने डरले कम्पनीहरू यसतर्फ लगानी न्युन छ।
अन्य लगानीका क्षेत्रहरू तर्फ जीवन बीमा कम्पनीहरूले पूर्वाधार बैंकको मुद्दती निक्षेपमा ७ अर्ब १७ करोड र ग वर्गका वित्तीय संस्थाको मुद्दती निक्षेपमा ६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ लगानी गरेका छन्। सूचीकृत पब्लिक कम्पनीहरूको साधारण सेयरमा ४२ अर्ब ४० करोड ३१ लाख रुपैयाँ परिचालन गरिएको छ। बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रहरूमा ७४ अर्ब ३५ करोड १३ लाख रुपैयाँ लगानी भएको छ।
उत्पादनशील क्षेत्रहरू जस्तै कृषि, पर्यटन, जलविद्युत् र नवीकरणीय ऊर्जामा कम्पनीहरूको कुल लगानी ११ अर्ब ७६ करोड १० लाख रुपैयाँ मात्र रहेको छ। घरजग्गा क्षेत्रमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउने प्रावधान भए पनि कम्पनीहरूले यस क्षेत्रमा जम्मा ७५ करोड रुपैयाँ मात्र लगानी गरेर निकै सतर्कता अपनाएको देखिन्छ।
जीवन बीमा कम्पनीहरूको नाफामा आएको यो गिरावटले केवल सेयरधनीलाई मात्र नभइ आम बीमितलाई समेत प्रत्यक्ष असर पुर्याउँछ। जीवन बीमा व्यवसाय जोखिम रक्षा गर्ने माध्यम मात्र होइन दीर्घकालीन अनिवार्य बचत पनि हो।
बीमा अवधि समाप्त भएपछि कम्पनीले बीमितलाई बुझाएको रकममा बोनस थपेर फिर्ता गर्नुपर्ने हुन्छ। कम्पनीको नाफा र लगानीबाट प्राप्त हुने प्रतिफल घट्दा बीमितले पाउने बोनस दरमा समेत भारी कटौती हुन सक्छ। यदि बीमितले पाउने प्रतिफल अन्य बचतका साधनको तुलनामा न्यून हुँदै गयो भने यसले समग्र बीमा क्षेत्रप्रतिको जनविश्वासमा धक्का पुर्याउन सक्छ।
बीमा कम्पनीहरू अब परम्परागत मुद्दती निक्षेपको ब्याजमा मात्र भर परेर बस्ने अवस्था छैन। बैंकमा पैसा थुपारेर बस्ने प्रवृत्तिले कम्पनीको वित्तीय स्वास्थ्य जोखिममा परेको वर्तमान सन्दर्भमा लगानी विविधीकरण विकल्प हो। अन्य लगानीका क्षेत्रहरुमा जलविद्युत्, पूर्वाधार निर्माण र उत्पादनमूलक उद्योगहरूमा पनि दीर्घकालीन लगानी बढाउनु पर्ने देखिएको छ।
सरकार र नियामक निकायले पनि बीमा कम्पनीहरूलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नका लागि आवश्यक नीतिगत सहजता र सुरक्षाको ग्यारेन्टी गरिदिनु पर्ने देखिन्छ। निजी क्षेत्रको मनोबल उकास्दै बजारमा कर्जाको माग बढाउन सकिएन भने आगामी त्रैमासहरूमा बीमा कम्पनीहरूको नाफा अझै ओरालो लाग्न सक्ने जोखिम देखिन्छ।
