नवलपरासी- पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले उखु किसानका समस्या समाधानका लागि आफूले कुनै कसर बाकी नराख्ने बताएका छन्।
आफूले विगतदेखि नै उखु किसानका समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै आएको र आगामी दिनमा समेत उखु किसानका समस्या समाधानमा आफू प्रतिबद्ध रहेको उनले बताए।
गत वर्ष पनि न्यूनतम समर्थन मूल्य समयमै तोक्न आफूले सरकारलाई दबाब दिएको बताउँदै उनले किसानहरूको समस्या समाधानका लागि आफू गम्भीर रहेको बताए। उनले ग्रामीण भेगमा अधिकांश किसान उखुखेतीमा आबद्ध भएकाले किसानमैत्री नीतिको आवश्यकता औँल्याए।
निर्वाचन अभियानअन्तर्गत आज नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित वडा नम्बर ५ र ६ मा घरदैलोमा आइपुगेका चौधरीलाई यहाँका उखु किसानले उखु किसानका दीर्घकालीन समस्या समाधानका लागि प्रभावकारी पहल गरिदिन अनुरोध गरेका थिए। उम्मेदवार चौधरीले किसानका गुनासा सुन्दै यसको दीर्घकालीन समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए ।
समयमा अनुदान रकम र उखुको भुक्तानी नपाउँदा यस क्षेत्रका कृषकले वर्षौंदेखि आर्थिक संकट झेल्दै आएका छन्। निर्वाचन अभियानअन्तर्गत आज प्रतापपुर गाउँपालिकाको वडा नम्बर ६ स्थित ग्रामीण भेगमा घरदैलो कार्यक्रममा पुगेका उम्मेदवार चौधरीलाई किसानहरूले आफ्ना गुनासा प्रत्यक्ष सुनाएका हुन्।
किसानहरूको भनाइअनुसार उखु क्रसिङ सिजन सुरु भइसके पनि सरकारले समयमै उखुको न्यूनतम समर्थन मूल्य निर्धारण नगर्दा अन्योल सिर्जना हुने गरेको छ। त्यस्तै चिनी मिलहरूले वर्षौंदेखि भुक्तानी अल्झाएर राख्ने प्रवृत्तिका कारण किसानहरू विस्थापन हुने अवस्थामा पुगेको उनीहरूको गुनासो छ।
स्थानीय किसानका समस्या सुनेपछि उम्मेदवार चौधरीले कांग्रेसको नेतृत्वमा सरकार बने कृषि क्षेत्रका लागि छुट्टै नीति निर्माण गरी किसानका सबै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। यस भेगका अधिकांश नागरिक कृषि पेसामा आबद्ध रहेकाले भुक्तानी र मूल्य निर्धारणको समस्या समाधान नगरेसम्म कृषकको अवस्था सुधार नहुने स्थानीयहरूको भनाइ छ। केही किसान उखुखेतीबाट विस्थापित भई केराखेतीतर्फ आकर्षित भए पनि बजारीकरण र उचित मूल्य अभावका कारण सन्तुष्ट हुन सकेका छैनन्।
घरदैलोका क्रममा उम्मेदवार चौधरीले सभापति गगन थापा नेतृत्वको सरकार बने राज्यले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने र किसानका समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विश्वास दिलाए। आफू निर्वाचित भएपछि झन्डै ३० महिना मात्रै काम गर्न पाएको बताउँदै उनले अधुरा कामलाई पूर्णता दिन र ग्रामीण क्षेत्रका सड विस्तार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा काम गर्ने वाचासहित पुनः मतदाताको घरदैलोमा आएको बताए। स्थानीयले चौधरी यस क्षेत्रका समस्यालाई राष्ट्रियस्तरमा दरिलो रूपमा उभ्याउन सक्ने सक्षम उम्मेदवार भएकाले आफूहरू विश्वस्त रहेको बताए ।
