काठमाडौं- कास्की पोखरामा ६ अर्ब ६३ करोड ९६ लाख रुपैयाँको लागतमा पोखरा विश्वविद्यालयको सुविधासम्पन्न भौतिक संरचना निर्माण हुने भएको छ।
पोखरा विश्वविद्यालयको स्वामित्वमा रहेको पोखरा महानगरपालिका वडा नम्बर ३० मा कुल १ लाख ७ हजार ४ सय ९४ वर्गमिटर क्षेत्रफलमध्ये १५ हजार ५ सय १० वर्गमिटरमा स्कूल अफ इन्जिनियरिङ, स्कूल अफ म्यानेजमेन्ट र स्कूल अफ डेभलपमेन्ट एण्ड सोसल इन्जिनियरिङका लागि तीनवटा भवन निर्माण गर्ने भएको छ।
विश्वविद्यालयको भौतिक संरचना निर्माण आयोजना प्रस्तावको वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको छ। विश्वविद्यालयले अहिले पोखरा महानगरपालिका वडा नम्बर ३० मा भौतिक संरचना निर्माणको प्रस्ताव गरेको छ।
भवनमा बेसमेन्ट र भुइँतलाबाहेक ५ तला रह नेछन्। सवारी पार्किङको लागि १ हजार ४ सय ९४ वर्गमिटर क्षेत्रफल प्रस्ताव गरिएको छ। साथै खुला क्षेत्र ३९ हजार ९ सय ७२ वर्गमिटर र हरियाली क्षेत्र ९ लाख ५ सय ३४ वर्गमिटर छुट्याइएको छ।
नेपालले सन् १९८३ मा बहुविश्वविद्यालयको अवधारणा अपनाएको थियो। सोहीअनुरुपमा पोखरा विश्वविद्यालयको अवधारणा सन् १९८६ मा आएको थियो। पोखरा विश्वविद्यालय ऐन १९९७ अन्तर्गत विश्वविद्यालय स्थापना भएको थियो।

