शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

फोहरजन्य वस्तु बिक्री गरी व्यास नगरपालिकाले गर्‍यो ७ महिनामा १४ लाख आम्दानी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ११ २०८२
फोहरजन्य वस्तु बिक्री गरी व्यास नगरपालिकाले गर्‍यो ७ महिनामा १४ लाख आम्दानी

नगरपालिकाले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाएको छ। नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लास्टिकजन्य फोहरहरु छुट्याएर बिक्री गरिरहेको छ।

तनहुँ- तनहुँको व्यास नगरपालिकाले फोहरका रुपमा संकलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्म १४ लाख ५० हजार ६ सय ११ रुपैयाँ आम्दानी गरेको छ।

नगरपालिकाले फोहरमैला, सिसाजन्य वस्तु बिक्रीबाट उक्त आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए।

फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी संकलन गर्न थालेको छ। कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै वर्गीकरण गरी संकलन गर्ने र बिक्री गर्न योग्य फोहर बिक्री गरी आम्दानी गरिएको लम्सालले बताए। उनले भने, “एकैठाउँमा सबै फोहर संकलन गर्दा समस्या हुने भएकाले कुहिनेलाई छुट्टै गाडीमा र नकुहिनेलाई छुट्टै गाडीमा संकलन भइरहेको छ।”

फोहर बिक्री गरी आम्दानी हुन थालेपछि नगरपालिकालाई आन्तरिक स्रोत वृद्धिमा सहयोग पुगेको लम्सालले बताए।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले फोहर उठाउँदादेखि नै कुहिने र नकुहिने फोहर छुट्याउने र नकुहिने फोहरभित्र पनि विभिन्न सिसा, प्लास्टिक, कागज जस्ता चिजहरू छुट्ट्यएर त्यसलाई मेसिनले कम्प्रेस गरी आम्दानी गर्न थालिएको बताए।

नगरपालिकाले नगरभित्रका प्रत्येक टोल, वडा, विद्यालयमा पुगेर फोहर वर्गीकरणका उपाय सिकाएको छ। नगरपालिकाले कार्यालय परिसरभित्र नकुहिने फोहरमध्येबाट कागज, सिसा, प्लास्टिकजन्य फोहरहरु छुट्याएर बिक्री गरिरहेको छ।

३२ वर्षसम्म पनि फोहरमैला व्यवस्थापनको स्थायी समाधान गर्न नसकिएको बताउँदै न्यौपानेले भने, 'विगतको मेरो कार्यकालमा पनि प्रयत्न गर्दा गर्दै समस्या आयो। जग्गा व्यवस्थापनका लागि नगरपालिका लागिरहेको छ।'

नगरपालिकाले कुहिने फोहरलाई भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी त्यहाँबाट बायोग्यास उत्पादन गर्ने काम गरिरहेको छ। व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिक रुपमा फोहर संकलन गर्दै आएको छ। नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर संकलन हुने गरेको छ। रासस


प्रकाशित : सोमबार, फागुन ११ २०८२०९:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend