बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन ९ २०८२
धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण

मगर समुदायको बाहूल्य बसोबास रहेको दोवाको पर्यटन विकासका लागि आइसफललाई पदमार्गले जोड्न लागिएको वडा अध्यक्ष गर्बुजाले बताए।

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ दोवादेखि धौलागिरि आइसफल जोड्ने पदमार्ग निर्माण थालिएको छ।

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको १० लाख रुपैयाँ बजेटबाट उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण थालिएको हो। उपभोक्ता समितिका अध्यक्ष विकास पुनले फागुन पहिलो सातासम्म गरेकदेखि गुन्थली भिर, देउराली डाडा, ठूलोखानी, भित्रे वन, ठूलो घैरा भर्‍याङ हुँदै भिरखर्कसम्म पदमार्ग निर्माण भइसकेको जानकारी दिए।

प्राविधिक नक्साअनुसार तीन किलोमिटर पदमार्ग निर्माण सकिएको र थप एक किलोमिटर निर्माणाधिन रहेको उनले बताए। दोवाका करिब २० जना स्थानीयबासी पदमार्ग निर्माणका लागि जंगलमै बास बसेर काम गरिरहेका छन्। वस्तिदेखि टाढा रहेको ठाउँमा घरबाट जान, आउन टाढा हुने भएकाले निर्माणस्थलमै त्रिपालको गोठ बनाएर बास बसेका हुन्।

चालु आर्थिक वर्षको बजेटबाट खोलाखर्कसम्म पदमार्गले जोडिने उपभोक्ता समितिले जनाएको छ। परापूर्व कालमा दोवाबासीले घुम्ती पशुगोठ लेकबेँसी गर्दा प्रयोग गरेको गोरेटो बाटो पहिचान गरेर पदमार्गको रूपमा विकास गर्न लागिएको अन्नपूर्ण गाउँपालिका-१ दोवाका वडा अध्यक्ष दिलीप गर्बुजाले बताए।

बेनी-जोमसोम सडक निर्माणपछि १५ वर्षअघि म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि आइसफल पदमार्गको पहिचान भएको थियो। रघुगंगा गाउँपालिकाको राखुदेखि सुरु हुने यो पदमार्ग मुस्ताङको लेते जोडिन्छ। मुख्य पदमार्गमा नजिकका बस्तिहरूबाट जोड्ने सहायक पदमार्गको विकास गर्ने काम भइरहेको छ।

मगर समुदायको बाहूल्य बसोबास रहेको दोवाको पर्यटन विकासका लागि आइसफललाई पदमार्गले जोड्न लागिएको वडा अध्यक्ष गर्बुजाले बताए। रासस


प्रकाशित : शनिबार, फागुन ९ २०८२१२:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend