बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जेनजी आन्दोलनको मर्म सम्बोधन गर्न कांग्रेस रूपान्तरित भयो : विनोद चौधरी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ८ २०८२
जेनजी आन्दोलनको मर्म सम्बोधन गर्न कांग्रेस रूपान्तरित भयो : विनोद चौधरी

काठमाडौं- आगामी फागुन २१ मा हुने आम निर्वाचनको पूर्वसन्ध्यामा पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नवलपरासी पश्चिम-१ का कांग्रेस उम्मेदवार विनोद चौधरीले जेनजी आन्दोलनको मर्मलाई सम्बोधन गर्न नेपाली कांग्रेस आफै परिवर्तन भएर चुनावी मैदानमा उत्रिएको बताएका छन्।

उनले जेनजी आन्दोलन केवल नाराबाजी नभई देशमै रोजगारी सिर्जना गर्ने, नेपालमै गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र समग्र देश विकासका लागि भएको स्पष्ट पारे।

'जेनजी आन्दोलन परिवर्तनका लागि थियो देशमै गरिखाने वातावरणका लागि, नेपालमै राम्रो शिक्षा पाउने सुनिश्चितताका लागि, र समृद्ध राष्ट्र निर्माणका लागि,' उनले भने, “यही परिवर्तनको माग सम्बोधन गर्न कांग्रेसले पहिला आफूलाई परिवर्तन गर्यो, अब देश परिवर्तन गर्ने अठोटका साथ अघि बढेको छ।'

चौधरीले आफूलाई नवलपरासी कांग्रेसले दिएको विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै भने, 'मप्रति देखाएको विश्वासप्रति म सधैँ ऋणी रहनेछु। आफू बदलिएर नेपाली कांग्रेसले नेपाल बदल्ने संकल्प गरेको छ।'

कार्यक्रममा प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले इतिहासका हरेक आन्दोलनको नेतृत्व र निकास नेपाली कांग्रेसले दिएको स्मरण गराउँदै जेनजी आन्दोलनको निकास पनि कांग्रेसबाटै सम्भव हुने दाबी गरे।

'कांग्रेस जेनजीकै चाहनाअनुसार परिवर्तन भएको छ,' उनले भने, 'हामी विनोद चौधरीका कार्यकर्ता हौँ भन्न पाउँदा गर्व लाग्छ। आर्थिक विकास र समृद्धिको स्पष्ट खाका कोर्न सक्ने नेता नवलपरासीले पाएको छ।' उनले ३० महिनाको अवधिमा चौधरीले ३० वर्षमा हुन नसकेका काम गरेको दाबीसमेत गरे।

जिल्ला सचिव कुलदीप आचार्यले विगतमा आन्तरिक द्वन्द्वका कारण चौधरीको विज्ञता पूर्ण रूपमा उपयोग गर्न नसकिएको स्वीकार गर्दै आम जनतासँग क्षमायाचना गरे। उनले फागुन २१ को निर्वाचनलाई 'देश जलाउने र देश जोगाउनेबीचको चुनाव'को संज्ञा दिँदै देश जोगाउन रुख चिन्हमा मतदान गर्न आग्रह गरे।

कांग्रेसले जेनजी आन्दोलनको भावना आत्मसात गर्दै रूपान्तरणको एजेन्डासहित चुनावमा होमिएको सन्देश कोण सभामार्फत प्रवाह गरेको छ।


प्रकाशित : शुक्रबार, फागुन ८ २०८२१६:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend