काठमाडाैं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले जलवायु सहनशील वित्त पोषणले सडक भवनमै सीमित नगरी महिलाद्वारा सञ्चालित उद्यम, लैङ्गिक संवेदनशील पूर्वाधार र सामुदायिक संरक्षणमा लगानी गर्न आग्रह गरेकी छन्।
आज नेपाल पर्यटन बोर्ड र परिसूचक मिडियाद्धारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी, २०८२’ मन्त्री श्रेष्ठले जलवायु परिवर्तनले पर्यटनमा प्रत्यक्ष असर पार्दा सबैभन्दा बढी मार महिलामाथि परेको भन्दै महिला केन्द्रीत लगानीमा जोड दिएकी हुन्।
गोष्ठीमा ‘जलवायु, समुदाय र महिला, जलवायु सहनशील तथा समावेशी पर्यटनका लागि वित्त पोषण अपरिहार्य’ विषयक सामूहिक छलफलमा सहभागी हुँदै उनले पर्यटनबाट प्राप्त आम्दानीलाई सामूहिक सहनशीलतासँग जोड्दै संरक्षणकर्तालाई प्रत्यक्ष लाभ सुनिश्चित गर्नुपर्ने आवश्यकता बताइन्।
मन्त्री श्रेष्ठले हिमताल विस्फोट, अनियमित हिमपात, पहिरोका कारण ट्रेकिङ पदमार्ग अवरुद्ध हुनु, पर्यटकीय क्षेत्रमा पानीको अभाव, जैविक विविधता क्षय र सम्पदामा क्षति जस्ता घटनाले पर्यटनलाई बढ्दो रूपमा प्रभावित गरिरहेकोबारे चिन्ता व्यक्त गरिन्। मन्त्री श्रेष्ठले धेरै पर्यटन निर्भर समुदायमा महिला औपचारिक र मौसमी आम्दानीमा निर्भर रहेको उल्लेख गर्दै होमस्टे सञ्चालन, स्थानीय उत्पादन बिक्री, होटल तथा जल क्षेत्रमा काम र सांस्कृतिक सेवा प्रदानमार्फत जीविकोपार्जन गर्दै आएको बताइन्।
महिलाद्वारा सञ्चालित व्यवसायमा कति लगानी भइरहेको छ भन्ने मापन कठिन भएको छलफलका क्रममा चर्चा गरिएको थियो। ग्रामीण पर्यटन अर्थतन्त्र धेरै हदसम्म अनौपचारिक रहेको उल्लेख गर्दै उनले धेरै महिला औपचारिक दर्ताबिना होमस्टे सञ्चालन र सामाजिक सुरक्षाबिना मौसमी काममा संलग्न रहेकाबारे समेत उनले आफ्नो भनाइ राखिन्।
मन्त्री श्रेष्ठले पर्यटन पूर्वाधार र योजनामा सुरक्षा, सरसफाइ तथा ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिको पहुँचलाई बेवास्ता गरिएकाप्रति चासो व्यक्त गरिन्।
सामुहिक छलफलका क्रममा अनियमित वर्षा र बेमौसमी हिमपातका कारण ट्रेकिङ सिजन प्रभावित भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले मुख्य याम मानिने अक्टोबरमै वर्षा र हिमपातले पर्यटकको बसाइँ अवधि र छुट्टी योजनामा अनिश्चितता बढाएको बताइन्।