काठमाडौं - नेपालमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा आफ्नो कुल लगानी ८ खर्ब रुपैयाँ माथि पुर्याएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा गरी कुल ८ खर्ब २९ अर्ब ५० करोड ६२ लाख रुपैयाँबराबरको रकम परिचालन गरेका छन्।
लगानीको सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा केन्द्रित देखिएको छ। तथ्यांकअनुसार कम्पनीहरूले 'क' वर्गका बैंकको मुद्दती निक्षेपमा मात्रै ५ खर्ब ४७ अर्ब ९९ करोड ६१ लाख रुपैयाँ लगानी गरेका छन्।
जीवन बीमा व्यवसाय दीर्घकालीन प्रकृतिको हुने र यसमा सर्वसाधारणको भविष्यको बचत जोडिएको हुनाले कम्पनीहरूले लगानीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेकाे देखिन्छ। नेपालको वित्तीय बजारमा सरकारी ऋणपत्रपछि वाणिज्य बैंकको मुद्दती निक्षेपलाई सबैभन्दा सुरक्षित र निश्चित प्रतिफल दिने क्षेत्र मानिन्छ।
साथै नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाले बीमा कम्पनीहरूलाई आफ्नो कुल लगानीयोग्य कोषको ३० प्रतिशत रकम अनिवार्य रूपमा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगाउनुपर्ने कानुनी सीमा तोकेका कारण पनि यो क्षेत्रमा लगानीको ठूलो हिस्सा थुप्रिएको हो। मुद्दती निक्षेपले एउटा निश्चित समयसम्म स्थिर ब्याजदरको ग्यारेन्टी गर्ने हुनाले कम्पनीहरूलाई भविष्यमा वित्तीय दायित्व व्यवस्थापन गर्न र बीमितलाई बोनस वितरण गर्न सहज हुने गर्दछ।
नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा न्यूनतम ३५ प्रतिशतसम्म रकम लगानी गर्न पाउने प्रावधान भए तापनि कम्पनीहरूले यस क्षेत्रमा जम्मा ३६ अर्ब ९६ करोड ३७ लाख रुपैयाँ मात्र लगानी गरेका छन्। सरकारी ऋणपत्रमा लगानीको ठूलो अवसर र सीमा हुँदाहुँदै पनि कम्पनीहरूले बढी प्रतिफलको लोभमा बैंकको मुद्दती निक्षेपलाई नै प्राथमिकतामा राखेको देखिन्छ।
सरकारी ऋणपत्रहरू तुलनात्मक रूपमा बढी सुरक्षित भए पनि यसको प्रतिफल वाणिज्य बैंकको मुद्दती निक्षेपले दिने ब्याजदरभन्दा कम हुने र रकम लामो समयसम्म लक हुने भएकाले कम्पनीहरू यसतर्फ कम आकर्षित भएका हुन्। आकस्मिक दाबी भुक्तानी गर्नुपरेमा मुद्दती निक्षेपलाई धितो राखेर तुरुन्तै कर्जा लिन वा तरलता व्यवस्थापन गर्न सकिने हुनाले पनि बीमा कम्पनीहरूले यसै क्षेत्रलाई आफ्नो लगानीको मुख्य आधार बनाएका हुन्।
त्यस्तै अन्य लगानीका क्षेत्रहरू तर्फ हेर्दा जीवन बीमा कम्पनीहरूले पूर्वाधार बैंकको मुद्दती निक्षेपमा ७ अर्ब १७ करोड र 'ग' वर्गका वित्तीय संस्थाको मुद्दती निक्षेपमा ६ अर्ब ४४ करोड ७० लाख रुपैयाँ लगानी गरेका छन्।
सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ४२ अर्ब ४० करोड ३१ लाख रुपैयाँ परिचालन गरिएको छ भने बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड र ऋणपत्रमा ७४ अर्ब ३५ करोड १३ लाख रुपैयाँ लगानी भएको छ।
यसैगरी कृषि, पर्यटन, जलविद्युत्, नवीकरणीय ऊर्जा, शिक्षा र स्वास्थ्य जस्ता उत्पादनशील क्षेत्रमा ११ अर्ब ७६ करोड १० लाख रुपैयाँ लगानी गरिएको छ। नागरिक लगानी कोष र म्युचुअल फण्डहरूमा समेत गरी करिब १८ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको प्राधिकरणको तथ्यांकले देखाउँछ।
घरजग्गा क्षेत्रमा १० प्रतिशतसम्म लगानी गर्न पाउने सुविधा भए पनि कम्पनीहरूले यस क्षेत्रमा जम्मा ७५ करोड रुपैयाँ मात्र लगानी गरेर निकै सतर्कता अपनाएको देखिन्छ।
