काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले ७६ औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको सुरुआत भएको स्मरण गर्दै आजको दिनलाई निर्वाचन दिवसका रूपमा समेत उल्लेख गरेकी छिन्।
उनले लेखेकी छिन्, 'लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ। पटक-पटक आन्दोलन गर्नुपर्यो। अब त्यस नियतिको अन्त्य गर्नैपर्छ। भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको संकल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ।'
प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट बन्न आग्रह गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छिन्।