बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वाणिज्य बैंकहरूको धितो कर्जा प्रवाह ५१ खर्ब नाघ्यो : धितोपत्रमा १७ खर्ब २५ अर्बको लगानी, निक्षेप ७७ खर्बमाथि

बिहीबार , फागुन ७ २०८२
वाणिज्य बैंकहरूको धितो कर्जा प्रवाह ५१ खर्ब नाघ्यो :  धितोपत्रमा १७ खर्ब २५ अर्बको लगानी, निक्षेप ७७ खर्बमाथि

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा २० वटा वाणिज्य बैंकहरूको कुल धितोकर्जा प्रवाह ५१ खर्ब ५० अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुगेको छ।

काठमाडौं- नेपालको बैंकिङ क्षेत्रकाे धितो कर्जा प्रवाह ५१ खर्ब पुगेकाे छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्ममा २० वटा वाणिज्य बैंकहरूको कुल धितो कर्जा प्रवाह ५१ खर्ब ५० अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुगेको हाे।

बैंकहरूले आफ्नो लगानी सुरक्षित गर्न र जोखिम न्यूनीकरणका लागि धितोमा आधारित कर्जालाई प्राथमिकता दिँदै आएका छन्। विशेषगरी घरजग्गा, सुनचाँदी र विभिन्न वित्तीय उपकरणहरूलाई सुरक्षणको रूपमा लिएर बैंकहरूले कर्जा परिचालन गरेका हुन्।

यस अवधिमा बैंकहरूले बिनाधितो ऋण दिनु जोखिमपूर्ण हुने राष्ट्र बैंकको नीतिलाई आत्मसात् गर्दै अचल सम्पत्तिको लिलाम गरेर पनि लगानी उठाउन सकिने सुनिश्चितताका साथ कर्जा प्रवाहलाई तीव्रता दिएको देखिन्छ।

क्षेत्रगत रूपमा हेर्दा वाणिज्य बैंकहरूको धितोकर्जा प्रवाहको सबैभन्दा ठूलो हिस्सा उपभोग्य कर्जा तर्फ देखिएको छ। तथ्यांकअनुसार यस क्षेत्रमा मात्र १० खर्ब ६४ अर्ब २९ करोड रुपैयाँ बराबरको धितोकर्जा प्रवाह भएको छ। यसले नेपाली बजारमा व्यक्तिगत तथा घरायसी प्रयोजनका लागि ऋण लिने क्रम बढेको देखिएको छ।

यसैगरी कृषि तथा वन क्षेत्रमा पनि बैंकहरूको लगानी उल्लेख्य रहेको छ। बैंकहरूले कृषि र वन क्षेत्रमा ३ खर्ब १४ अर्ब २४ करोड रुपैयाँभन्दा बढी धितोकर्जा प्रवाह गरेका छन्। यस क्षेत्रमा विशेषगरी कृषि विकास बैंकको वर्चस्व देखिएको छ। जसले ४८ अर्ब ६५ करोड ४५ लाख रुपैयाँ कृषि क्षेत्रमा मात्र लगानी गरेको छ। राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया र ग्लोबल आईएमई बैंकले पनि कृषि क्षेत्रमा अर्बौंको लगानी विस्तार गरेका छन्।

अन्य क्षेत्रहरूको विश्लेषण गर्दा थोक तथा खुद्रा विक्रेता अन्तर्गतको धितोकर्जा ९ खर्ब ५५ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी रहेको छ। कृषि, वन, पेय पदार्थ तथा गैर-खाद्य उत्पादन तर्फ ९ खर्ब २८ अर्ब ९२ करोड रुपैयाँ प्रवाह भएको छ भने निर्माण क्षेत्रमा २ खर्ब १९ अर्ब ८० करोड र विद्युत, ग्यास तथा पानी क्षेत्रमा ४ खर्ब ६१ अर्ब ८७ लाख रुपैयाँ लगानी भएको छ।

पर्यटन सेवा, यातायात, सञ्चार तथा सार्वजनिक सेवा र खानीजन्य उद्योगहरूमा पनि बैंकहरूको अर्बौंको धितोकर्जा परिचालन भएको छ। वित्त, बीमा र घरजग्गा क्षेत्रमा ३ खर्ब ७३ अर्ब ४२ करोड रुपैयाँ लगानी देखिएको छ। स्थानीय सरकार तर्फ भने तुलनात्मक रूपमा कम अर्थात् १ अर्ब १८ करोड ५३ लाख रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ।

बैंकगत रूपमा धितोकर्जा प्रवाहमा ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि देखिएको छ। यस बैंकले यो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ खर्ब ६५ अर्ब ९१ करोड २८ लाख रुपैयाँ धितोकर्जा प्रवाह गरेको छ।

ग्लोबल आईएमईले उपभोग्य क्षेत्रमा मात्र १ खर्ब १२ अर्ब ६५ करोड लगानी गरेको छ। दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ, जसले ३ खर्ब ६३ अर्ब ८३ करोड बराबरको धितोकर्जा प्रवाह गरेको छ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकले ३ खर्ब २७ अर्ब ६६ करोड, लक्ष्मी सन्राइज बैंकले ३ खर्ब १ अर्ब ७८ करोड र कुमारी बैंकले २ खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ धितोकर्जा प्रवाह गरेका छन्। नबिल बैंक, हिमालयन बैंक, एनएमबी बैंक र प्रभु बैंकको लगानी पनि २ खर्ब ४० अर्ब माथि रहेको छ भने अन्य बैंकहरूले पनि अर्बौंको हाराहारीमा आफ्नो पोर्टफोलियो विस्तार गरेका छन्।

यस अवधिमा वाणिज्य बैंकहरूले धितोपत्रमा पनि निकै ठूलो लगानी गरेका छन्। तथ्यांकअनुसार बैंकहरूको धितोपत्रमा कुल लगानी १७ खर्ब २५ अर्ब ११ करोड २२ लाख रुपैयाँ पुगेको छ। यसमध्ये ९ खर्ब ८३ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गरिएको छ भने राष्ट्र बैंकको बोण्डमा ७ खर्ब ३८ अर्ब १७ करोड ४४ लाख रुपैयाँ लगानी छ।

सेयर तथा अन्य वित्तीय उपकरणहरूमा ४ खर्ब ५ अर्ब ४३ करोड बराबरको लगानी रहेको छ, जसले बैंकहरूले आफ्नो पुँजीलाई विविधीकरण गरिरहेको देखाउँछ। बैंकहरूले निक्षेपकर्ताको पैसा सुरक्षित राख्न र स्थिर आम्दानी सुनिश्चित गर्न सरकारी ऋणपत्रलाई प्राथमिकता दिएको देखिन्छ।

समग्र बैंकिङ प्रणालीको निक्षेप र कर्जाको अवस्थालाई हेर्दा वित्तीय क्षेत्रमा तरलताको अवस्था सुदृढ देखिन्छ। हाल बैंक तथा वित्तीय क्षेत्रमा रहेको कुल निक्षेप ७७ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। 

यसमा ५४ वटा संस्थाहरु रहेको छन। जसमा वाणिज्य बैंकहरूको मात्र ६९ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। विकास बैंक र फाइनान्स कम्पनीहरूले ७ खर्ब ६५ अर्ब निक्षेप संकलन गरी ६ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। 

बैंकिङ क्षेत्रको कुल कर्जा ५७ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ। हाल बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७४.३२ प्रतिशत कायम रहेको छ। यो अनुपातले बैंकहरूसँग अझै पनि थप कर्जा प्रवाह गर्न सक्ने पर्याप्त क्षमता रहेको देखाउँछ।

राष्ट्र बैंकको तथ्यांक अनुसार अहिलेको अवस्थामा बैंकिङ क्षेत्र करिब १० खर्ब रुपैयाँ थप कर्जा दिन सक्ने स्थितिमा रहेको छ, जुन लगानीकर्ता र व्यवसायीहरूका लागि सकारात्मक अवसर पनि हुन सक्छ।


प्रकाशित : बिहीबार , फागुन ७ २०८२०७:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend