शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

निर्वाचन १५ दिन बाँकी : प्रविधिको दुरुपयोग गरी भ्रम नफैलाउन आयोगको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ६ २०८२
निर्वाचन १५ दिन बाँकी : प्रविधिको दुरुपयोग गरी भ्रम नफैलाउन आयोगको आग्रह

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक गर्ने काम नगर्न समेत सञ्चारमाध्यमहरूलाई आग्रह गरे।

काठमाडौं- निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ।

आयोगले सामाजिक सञ्जालमा गलत सूचना सम्प्रेषण नगर्न र नगराउन एवं सहयोगी भूमिका निर्वाह गरिदिन पनि आमसञ्चारलगायतका सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा नराख्न र निर्वाचनलाई मर्यादित बनाउन आग्रह गरे। उनले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा सार्वजनिक गर्ने काम नगर्न समेत सञ्चारमाध्यमहरूलाई आग्रह गरे।

उनले भने, 'हालैका केही अभ्यासहरू, जसमा मतदान हुनुअघि नै मतदाताहरूको कुराकानीलाई आधार बनाएर हारजीतको अनुमान गर्ने वा मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने गरिएको छ। त्यसप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।'

निर्वाचन आचारसंहिता, २०८२ ले प्रस्ताव गरेको मतदातको स्वतन्त्र निर्णयलाई दिग्भ्रमित तुल्याउन सक्ने भएकाले नतिजा पहिला नै घोषणा गरिदिँदै उम्मेदवारहरूलाई हतोत्साही बनाउने र प्रतिस्पर्धाको वातावरणलाई खलल पुर्‍याउन काम नगर्न आयोगले अनुरोध गरेको छ।

प्रविधिको तीव्र विकाससँगै एआईको प्रयोग गरी सृजना गरिएका दिग्भ्रमित पार्ने सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न र नगराउन सहयोगी भूमिका निर्वाह गरिदिन आयोगले विशेष आग्रह गर्दै आएको छ। प्रविधिले सूचना प्रवाहमा सहजता ल्याएपनि यसको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी बनाउन सक्ने जोखिम भएकाले यसतर्फ गम्भीर बन्न आयोगले ध्यानाकर्षण गराएको छ।

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने कुरामा हरेकले आफ्नो जिम्मेवारी सम्झेर काम गर्नुपर्ने आयोगको धारणा छ। रासस


प्रकाशित : बुधबार, फागुन ६ २०८२१०:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend