काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको स्टार्टप तथा इनोभेसन फोरमको बैठक आज काठमाडौंमा सम्पन्न भएको छ। बैठकले नेपालमा स्टार्टप तथा इनोभेसन प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै सहकार्यलाई तीव्र बनाउनुपर्नेमा जोड दिएको छ।
बैठकमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नवप्रवर्तनमैत्री नीति तथा वित्तीय पहुँच विस्तार नगरी स्टार्टप इकोसिस्टम सुदृढ हुन नसक्ने बताउँदै निजी क्षेत्र-सरकार सहकार्य बढाउनुपर्नेमा जोड दिए।
उनले स्टार्टपहरूलाई बजार पहुँच, मेन्टरसिप र नियामकीय स्पष्टता उपलब्ध गराउन महासंघ सक्रिय रहने जानकारी दिए। साथै उनले नवप्रवर्तनशील उद्यमका लागि तालिम, प्राविधिक सहयोग र इन्क्युबेशन सेवाहरूलाई अझ प्रभावकारी बनाइदै लैजानु पर्नेमा जोड दिए।
उपाध्यक्ष हेमराज ढकालले स्टार्टप तथा इनोभेसन उद्यमलाई प्रोत्साहन गर्न कर तथा लगानी सम्बन्धी नीतिगत सहजीकरण आवश्यक रहेको उल्लेख गरे।
उपाध्यक्ष ज्योत्सना श्रेष्ठले महिला तथा युवा उद्यमशीलतालाई स्टार्टप नीतिको केन्द्रमा राख्नुपर्ने बताउँदै समावेशी उद्यम वातावरण निर्माणका लागि क्षमता अभिवृद्धि र नेटवर्किङ कार्यक्रम विस्तार गर्नुपर्ने धारणा राखिन्।
कोषाध्यक्ष भरतराज आचार्यले महासंघअन्तर्गतको स्टार्टप तथा इनोभेसन फोरमलाई कमिटीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै यसका लागि संस्थागत मापदण्ड विकास आवश्यक रहेको बताए।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेशकुमार गुप्ताले स्टार्टप तथा इनोभेसनका क्षेत्रमा नीतिगत सुधारहरू भएको उल्लेख गर्दै उद्यम विकासका सरकारी कार्यक्रमहरू निजी क्षेत्रको सहकार्यमा अगाडि बढाइने बताए।
फोरमकी सभापति जुना माथेमाले फोरमका गतिविधि, साझेदारी विस्तार, स्टार्टप शोकेस तथा नीतिगत संवाद कार्यक्रमबारे जानकारी दिँदै आगामी दिनमा उद्यमी-लगानीकर्ता प्लेटफर्म सुदृढ गर्दै जानु पर्नेमा जोड दिएकी थिइन्।