शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

आम्दानी घटे पनि एनसेलको ऋण तिर्ने क्षमता उच्च, अन्य वित्तीय सूचकमा पनि अब्बल

मंगलबार, फागुन ५ २०८२
आम्दानी घटे पनि एनसेलको ऋण तिर्ने क्षमता उच्च, अन्य वित्तीय सूचकमा पनि अब्बल

चालु वर्षको पहिलो त्रैमासमा यो २.९ गुणा छ। सामान्यतया डेढ गुणाभन्दा माथिको अनुपातलाई सुरक्षित मानिने सन्दर्भमा कम्पनीको स्थिति अझै बलियो रहेको देखिन्छ।

काठमाडौं- नेपालको निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ऋण तिर्ने क्षमता उच्च रहेको मूल्यांकन सार्वजनिक भएको छ। आम्दानीमा निरन्तर दबाब परिरहेका बेला पनि कम्पनीले आफ्नो वित्तीय दायित्व समयमै भुक्तानी गर्न सक्ने सामर्थ्य कायम राखेको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको ब्याज भुक्तानी क्षमता सन्तोषजनक दायरामै छ। आर्थिक वर्ष २०७८/७९ मा करिब ९ गुणा रहेको ब्याज तिर्ने क्षमता २०७९/८० मा ८.१ गुणा र २०८०/८१ मा ११.३ गुणासम्म पुगेको थियो। २०८१/८२ मा यो अनुपात ७.७ गुणा कायम छ भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८.८ गुणा पुगेको प्रारम्भिक विवरण छ। यसले कम्पनीले आफ्नो सञ्चालन नाफाबाट ब्याज खर्च सहजै धान्न सक्ने देखाउँछ।

त्यसैगरी ऋण सेवा आवरण अनुपात पनि सुरक्षित तहमा छ। २०७८/७९ मा ३.७ गुणा रहेको यो अनुपात २०७९/८० मा ३.२ गुणा, २०८०/८१ मा ३.५ गुणा र २०८१/८२ मा २.८ गुणा कायम छ। चालु वर्षको पहिलो त्रैमासमा यो २.९ गुणा छ। सामान्यतया डेढ गुणाभन्दा माथिको अनुपातलाई सुरक्षित मानिने सन्दर्भमा कम्पनीको स्थिति अझै बलियो रहेको देखिन्छ। यसले कम्पनीले ऋणको साँवा र ब्याज दुवै नियमित रूपमा तिर्न सक्ने वित्तीय आधार सुरक्षित राखेको संकेत गर्छ।

कुल ऋण र मूर्त खुद सम्पत्तिको अनुपात पनि क्रमशः घट्दै गएको छ। २०७८/७९ मा १.१ गुणा रहेको यो अनुपात २०८१/८२ मा ०.६ गुणामा झरेको छ। यसले कम्पनीको पुँजी संरचना सन्तुलित बन्दै गएको देखाउँछ। कुल ऋण र सञ्चालन नाफाको अनुपात पनि एक गुणाभन्दा तल छ, जसले नाफाको तुलनामा ऋणभार मध्यम र व्यवस्थापनयोग्य रहेको स्पष्ट गर्छ।

कम्पनीसँग करिब १४ अर्ब रुपैयाँ नगद मौज्दात छ। पर्याप्त नगद प्रवाह र स्थिर सञ्चालन नाफाका कारण अल्पकालीन तथा दीर्घकालीन दायित्व व्यवस्थापनमा सहजता देखिएको छ। सञ्चालन नाफाको अनुपात ५० प्रतिशत आसपास कायम रहनुले कम्पनीको मुख्य व्यवसाय अझै पनि नाफामुखी रहेको संकेत गर्छ।

यद्यपि सञ्चालन आम्दानी २०७८/७९ को ३९ अर्ब ७२ करोड रुपैयाँबाट घटेर २०८१/८२ मा ३२ अर्ब ५४ करोड रुपैयाँमा सीमित भएको छ। उच्च नाफा दर, सन्तुलित ऋण अनुपात र पर्याप्त नगद मौज्दातका आधारमा कम्पनीको ऋण तिर्ने क्षमता बलियो नै रहेको निष्कर्ष निकालिएको छ। समग्रमा आम्दानीमा गिरावट आए पनि वित्तीय अनुशासन र स्थिर नगद प्रवाहका कारण एनसेलको ऋण वहन क्षमता उच्च तहमा रहेको देखिएको छ।


प्रकाशित : मंगलबार, फागुन ५ २०८२१८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend