काठमाडौं- भारत र अमेरिकाबीचमा भएको व्यापार सम्झौताको सहमतिबाट नेपालको अर्थतन्त्र र व्यवसायीहरू पनि आंशिक रुपमा प्रभावित हुने देखिएको छ। आगामी मार्चमा हस्ताक्षर भएसँगै पूर्ण कार्यान्वयन हुने मानिएको यो सम्झौताका व्यवस्थाले नेपालको केही क्षेत्रलाई प्रत्यक्ष प्रभावित बनाउने देखिएको छ।
नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदर भारतले अमेरिकासँग गरेको यो सम्झौताका केही व्यवस्थाले नेपालको निर्यात क्षेत्र प्रत्यक्ष प्रभावित हुने जोखिम बढेको हो। विशेषगरी कृषि वस्तुमा शून्य भन्सार वा पर्याप्त कटौती हुने सम्झौता गरिएको छ।
यो व्यवस्थाअन्तर्गत अमेरिकाबाट आउने सोयाबिल तेलमा भारतले शून्य भन्सार वा उल्लेख्य कटौतीको गर्ने छ। भारतका वाणिज्यमन्त्री पियूष गोयलले नै सोयाबिन तेलमा भन्सार सहुलियत हुने घोषणा गरिसकेका छन्।
अमेरिकाबाट भारतमा आयात हुने तेलमा भन्सार कटौतीपछि नेपालभन्दा बढी उत्तर अमेरिकी मुलुकहरूको निर्यात प्रभावित हुनेछ। नेपाल पनि यसबाट प्रभावित हुने जोखिम बढेको छ।
अहिलेसम्म भारतले यसका सन्दर्भमा स्पष्ट निर्देशिका जारी गरेको छैन। कोटामा आधारित सहुलियत हुने बताइएको छ। यदि अमेरिकाबाट शून्य भन्सारमा सोयाबिन तेल आयात भयो भने नेपालबाट निर्यात हुने तेलको निर्यात घट्न सक्ने देखिएको छ।
नेपालको कुल निर्यातको ३९ प्रतिशत त भटमासको तेल नै निर्यात भएको छ। यो सबै भारतमै हुँदै आएको छ। १ खर्ब ४२ अर्बको कुल निर्यातमा ५६ अर्बको निर्यात भटमासको तेल रहेको छ। नेपालको यो बीचमा ५७ अर्बको भटमासको कच्चा तेलको आयात गरेर ५६ अर्बको निर्यात गरेको छ।
नेपालका व्यवसायीहरूले उत्तर अमेरिकी मुलुकबाट भटमासको कच्चा तेल ल्याएर यहाँ प्रशोधन गरेर भारतमा शून्य भन्सार सुविधाको उपयोग गर्दै निर्यात गरिरहेका छन्। साफ्टाको सुविधा नेपाली व्यवसायीले उपयोग गरिरहेका हुन्। अरु मुलुकबाट प्रशोधित तेलमा ३६ प्रतिशतको भन्सार रहेको तर नेपालबाट शून्यमै निर्यात हुँदा त्यसको लाभ नेपाली व्यवसायीले पाउँदै आएका छन्।
तर अमेरिकाबाट प्रशोधितको ठाउँमा क्रुड आयलमात्र आउने र त्यसमा पनि कोटा लागू भएमा भने नेपालको निर्यात त्यति धेरै प्रभावित हुने छैन। तर प्रशोधित तेल पनि शून्य भन्सारकै सुविधामा आयो भने नेपालको निर्यात प्रभाविति हुनसक्ने जोखिम छ। यसका पछाडि अर्को कारण छ कि भारतले वर्षेनि ५ सय अर्ब डलरको आयात अमेरिकाबाट गर्ने बाचा गरेको छ। यो कोटा पूर्तिका लागि पनि खाद्य तेलको आयात प्राथमिकतामा पर्नसक्छ।
यसै पनि दिगो अभ्यास नरहेको यो व्यापार जतिबेला पनि जोखिममा पर्नसक्ने त छ नै त्यसमाथि यो सम्झौता कसरी जान्छ भन्ने कुराले जोखिम झन् बढाउने बताउछन् व्यापार विज्ञ रविशंकर सैजु।
‘अमेरिकाबाट शून्य भन्सारमा रिफाइन तेल आयो भने कोटा नै भएपनि नेपालकोभन्दा सस्तोमा उतैको आउँछ। यस्तोमा हाम्रो निर्यात त निकै तल झर्ने छ’ उनी भन्छन्।