म्याग्दी- बेनी नगरपालिका-५ पुलाचौरमा पक्की सडक निर्माण सुरु भएको छ। बेनी नगरपालिका र संघीय सरकारको लागत साझेदारीमा बेनी-पुलाचौर-टोड्के सडक योजना सञ्चालन भएको हो। विसं २०६४ मा मार्ग खुलेको पुलाचौरको सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनाउन थालिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए।
'बेनी नगरपालिकाको ६० प्रतिशत र संघीय सरकारको ४० प्रतिशत लागत साझेदारीमा सडक स्तरोन्नति आयोजना सुरु गरेका हौँ,' उनले भने, 'तीन आर्थिक वर्षमा क्रमागत योजनाका रूपमा पुरुण्डीदेखि पुलाचौर हुँदै नयाँगाउँ खण्डको सडकलाई पक्की बनाउन लागेका हौँ।'
मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति हुन थालेपछि पुलाचौरवासी उत्साही भएका छन्। धुलो र हिलोको समस्या हट्ने, यात्राअवधि छोटिने, झन्झट र कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाबाट मुक्ति मिल्ने स्थानीयवासीले बताएका छन्। सामान्य मर्मतसम्भार गरेर यातायात सञ्चालन हुँदै आएको सडकमा यात्रा गर्न असहज हुँदै आएको थियो।
चालु आर्थिक वर्षका लागि १ करोड ७७ लाख ८८ हजार ४ सय ७२ रुपैयाँ लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि रिभरएज इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले गत पुस १२ गते १ करोड २२ लाख ५५ हजार २ सय रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।
निर्माण कम्पनीले सडक फराकिलो पार्ने, पर्खाल निर्माण र पुलाचौर क्षेत्रबाट ढलान सुरु गरेको बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछानेले बताइन्। यो सडकबाट स्थानीयवासीका साथै रावणपार्क, पछै, ढोलथान, जगन्नाथ र टोड्केलगायत धार्मिक पर्यटकीयस्थलको दर्शन र पूजाआजाका लागि आउने भक्तजन तथा पर्यटकलाई सुविधा पुग्ने उनले बताइन्।
उपप्रमुख लामिछानेका अनुसार बेनी-पुलाचौर-टोड्के बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा सबैभन्दा बढी बजेट विनियोजन गरेको गौरवको आयोजना हो।
आगामी जेठ १५ गतेसम्म ठेक्काको म्याद रहेको योजनामार्फत ५९७ मिटर ढलान र ३०० मिटर दूरीमा प्रिमिक्स प्रविधिको कालोपत्र गरिने बेनी नगरपालिकाका सबइन्जिनियर मिलन केसीले बताए। ५०२ मिटर दूरीमा नाली र १७४.७४ घनमिटर पलम कंक्रिट पर्खाल निर्माण हुने उनले बताए।
बेनी नगरपालिका-६, ५ र मंगला गाउँपालिकाको १ नं वडाका बस्तीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने यो सडकको बेनीदेखि बेनी नगरपालिका-६ अर्थुंगे-बाँसबोट-एकपाटे-अवेचौर हुँदै पुरुण्डीसम्म ६ किलोमिटर सडकलाई ढलान र कालोपत्र गरेर पक्की बनेको छ। रासस
