बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पर्यटकीय गाउँ धम्पुसमा 'आलडाँडा उद्यान' निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ५ २०८२
पर्यटकीय गाउँ धम्पुसमा 'आलडाँडा उद्यान' निर्माण

यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ।

कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिका-७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ। पर्यटकीय गाउँका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ। उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ।

उद्यानमा धम्पुस ब्रेकन भगिनी सम्बन्ध स्थापनाको स्मारक राखिएको छ। ढुंगैढुंगाले बनेको यस स्मारकले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्नेछ। दुई रोपनी जमिनमा रहेको उद्यानबाट उत्तरतर्फ लहरै ठडिएका हिमशृंखला तथा हेमजा र पोखरा बजारको दृश्यावलोकन गर्न सकिन्छ।

धम्पुस समाज युकेको लगानी र अग्रसरतामा उद्यान निर्माण गरिएको हो। उद्यान निर्माणका लागि समाजको २६ लाख  रुपैयाँ र स्थानीय सरकार तथा व्यक्तिगत सहयोग गरी ४० लाख रुपैयाँ खर्च भएको धम्पुस समाज युकेका संरक्षक मेजर खुसीमान गुरुङले जानकारी दिए। उनले भने, 'धम्पुस आफैमा पर्यटकीय गाउँ हो। यहाँ आउने पर्यटकलाई थप आकर्षण बढाउने उद्देश्यले हामीले पार्क बनाएका हौँ।'

धम्पुस र बेलायतको ब्रेकन सहरबीचको भगिनी सम्बन्ध स्थापनाको सातौँ वर्ष पुगेको छ। सोही अवसरमा हालै उद्यान औपचारिक उद्घाटन गरेर खुला गरिएको हो। धम्पुसबाट उत्तरतर्फ आँखैअगाडि देखिने अन्नपूर्णलगायतका हिमशृंखलाले पर्यटकलाई लोभ्याउने गरेको छ। उद्यान निर्माणपछि थप पर्यटक आगमन बढ्ने विश्वास गरिएको माछापुच्छ्रे-७ का वडाध्यक्ष बैकुण्ठप्रसाद भण्डारीले बताए।

वडाध्यक्ष भण्डारीले भने, 'पार्क निर्माणले धम्पुसको पर्यटनमा नयाँ आयाम थपिएको छ। यसबाट ग्रामीण पर्यटन प्रवर्द्धन हुनेछ भने धम्पुस र ब्रेकनको सम्बन्धलाई पनि थप प्रगाढ बनाउनेछ।' पोखरादेखि २० किलोमिटर दूरीमा धम्पुस गाउँ पुगिन्छ। पोखरा-बाग्लुङ राजमार्गको घट्टेखोलाबाट धम्पुस जान सकिन्छ। धम्पुस विश्वप्रख्यात मर्दी हिमाल पदयात्राको प्रवेशद्वार पनि हो। धम्पुस हुँदै वार्षिक हजारौँ पर्यटकले मर्दीको पदयात्रा गर्ने गर्दछन्। रासस


प्रकाशित : मंगलबार, फागुन ५ २०८२११:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend