बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दिक्तेल-रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ५ २०८२
दिक्तेल-रेग्मीटार सडक : घर्तीभिरको चट्टान फुटाउन थालियो

दिक्तेल-खानीडाँडा-आहाले-रेग्मीटार सडक दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला आवतजावत गर्ने सबैभन्दा छोटो दूरीको सडक भएकाले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ।

खोटाङ- जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग जोड्ने छोटो दूरीको सडकमार्ग दिक्तेल-रेग्मीटार सडकखण्डस्थित घर्तीभिरको चट्टान फुटाउन थालिएको छ। कोशी प्रदेश सरकारको लगानीमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीको सिमानामा पर्ने घर्तीभिरको चट्टान फुटाउन थालिएको हो।

दिक्तेल-खानीडाँडा-आहाले-रेग्मीटार सडक निर्माणका लागि कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि २ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। विनियोजित बजेटमा ठेक्का प्रक्रियाबाट निर्माण कम्पनीले १ करोड ७ लाख ७७ हजार ८ सय ४७ रुपैयाँमा सम्झौता गरेर घर्तीभिरको चट्टान फुटाउन सुरु गरेको भौतिक पूर्वाधार कार्यालयका अधिकृत सीताराम राउतले जानकारी दिए।

दिक्तेल-खानीडाँडा-आहाले-रेग्मीटार सडक दिक्तेल बजारबाट तराईका विभिन्न जिल्ला आवतजावत गर्ने सबैभन्दा छोटो दूरीको सडक भएकाले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको छ। निर्माणाधीन सडकलाई जोड्नका लागि राजापानीस्थित घर्तीभिर बाधक बन्दै आएको थियो।

सगरथामा लोकमार्गको दिक्तेल-गाईघाट सडकको कहुरे-फोक्सिङटार सडक लामो भएपछि दिक्तेल-रेग्मीटार सडक निर्माण सुरु गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताए।

'दिक्तेल-महुरे-बुइपा-राजापानी-रेग्मीटार सडकभन्दा दिक्तेल-खानीडाँडा-आहाले-रेग्मीटार सडक साढे १७ किलोमिटर छोटो छ। दिक्तेल बजारबाट तराई जोड्ने यो सबैभन्दा छोटो दूरीको सडक भएकाले भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट विनियोजन गराइएको हो,' उनले भने, 'नगरपालिकाको १ करोड ५० लाख रुपैयाँभन्दा बढीको बजेटमा दिक्तेलबाट घर्तीभिरसम्म र रेग्मीटारबाट घर्तीभिरसम्म दुवैपट्टिको कच्ची सडक निर्माण भइसकेको छ। घर्तीभिरमा ठूला चट्टान रहेकाले प्रदेश सरकार गुहारेका हौँ। यही वर्षबाट सडक सञ्चालन गर्ने गरी प्रदेश सरकारबाट प्राप्त बजेटले काम सुरु गरिएको छ।'

दिक्तेल-खानीडाँडा-रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा पूर्वी तराईका विभिन्न जिल्ला यात्रा गर्न, जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ। घर्तीभिरमा रहेको चट्टान फुटाउन तथा यसअघि निर्माण गरिएका सडक सफा गर्ने गरी यस आर्थिक वर्षका लागि ठेक्का लगाइएको लेखा अधिकृत राउतले जानकारी दिए।

तीव्र गतिमा निर्माण भइरहेको दिक्तेल-रेग्मीटार सडकमा पर्ने दिखुवाखोलामा मोटरेबल पुल निर्माणको काम पनि भइरहेको छ। प्रदेश सडक पुल सहयोग एकाई इटहरी र भौतिक पूर्वाधार विकास मन्त्रालयबाट पूर्वाधार विकास कार्यालय खोटाङमा प्राप्त ३ करोड रुपैयाँको बजेटमा ठेक्का आह्वान गर्दा पिंगला अन्सुरी फूलबारी जेभीले २ करोड ७० लाख रुपैयाँमा सम्झौता गरेर ट्रस पुल निर्माणको काम सुरु गरेको कार्यालयका कन्सल्टेन्सी इन्जिनियर अंकित भट्टराईले जानकारी दिए।

दिखुवाखोलामा मोटरेबल पुल निर्माणका लागि गत जेठमै कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गरेका थिए। ट्रस प्रयोग गरेर निर्माण गरिने मोटरेबल पुलका लागि आवश्यक स्टिल ट्रष्ट कोशी प्रदेश सडक पुल सहयोग इकाइ इटहरीले निर्माण कम्पनीलाई उपलब्ध गराएको जनाइएको छ।

दिखुवाखोलामा निर्माण सुरु गरिएको ट्रस पुलका लागि आवश्यक २ करोड रुपैयाँभन्दा बढीको स्टिल ट्रस निर्माणस्थलमा झारिएको जनाइएको छ। कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल-रेग्मीटार सडकको दिखुवाखोलामा मोटरेबल पुल नहुँदा वर्षात्को समयमा करिब ६ महिना यातायात ठप्प हुँदै आएको छ।

कालोपत्रको काम अलपत्र परेको दिक्तेल-महुरे (२० किलोमिटर) तथा महुरे-राजापानी-रेग्मीटार सडक (२९ किलोमिटर) गरी दिक्तेल-रेग्मीटार सडक (५९ किलोमिटर) लामो छ। प्रदेश सरकारको लगानीमा निर्माणाधीन दिक्तेल-खानीडाँडा-आहाले-रेग्मीटार सडक कालोपत्र हुँदै गरेको दिक्तेल-महुरे-राजापानी-रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो हुने भएपछि जिल्लावासी पनि उत्साहित बनेका छन्। रासस


प्रकाशित : मंगलबार, फागुन ५ २०८२१०:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend