काठमाडौं- बेलायती विलासी कार निर्माता कम्पनी ज्यागुअरको आईपेस विद्युतीय कार पछिल्लो पटक नेपाल आयात भएको छ। कारक्याब गेयर प्रालि नामक कम्पनीले आयात गरेर ल्याएको उक्त कार बेलायतमा दर्ता भइसकेर बेलायती नम्बर प्लेटसहित आएको पाइएको छ।
कारक्याबले आयात गरेर ल्याएको ज्यागुअरको आईपेस विद्युतीय कार बेलायतमा दर्ता भएको पाइएको हो। कानूनत: नेपालमा आयात गरिने सवारी नयाँ नै हुनुपर्छ।
नेपालमा ल्याइएको त्यो पुरानो गाडी बेलायतमा डिलरले कसैलाई बेचेर कम्पनी वा कोही व्यक्ति ग्राहकको नाममा रजिस्टर भइसकेको भन्ने देखिन्छ। उदाहरणका लागि नेपाल आयात गरिएको एउटा गाडीमा अंग्रेजी अक्षरमा रहेको केएन ट्वान्टी फाइभ एनजेडजी (KN25 NZG) नम्बर प्लेट रहेको देखिन्छ। जुन बेलायतको मिल्टन किन्स आसपास दर्ता भएको सवारी हो। पहिलो दुई अक्षर केएनले सवारी दर्ता भएको क्षेत्र जनाउँछ। अंकमा लेखिएको २५ ले सवारी दर्ता भएको वर्ष जनाउँछ। यो सवारी २०२५ मार्चमा दर्ता भएको देखिन्छ।
आयात हुने कुनैपनि सवारी ‘रिकन्डिसन, प्रयोग भइसकेको वा प्रचलित नेपाल सवारी प्रदूषण मापदण्डभित्र नपर्ने सवारी वा ढुवानीका साधन पैठारी गर्न पाइने छैन,’ आर्थिक ऐनमा स्पष्ट व्यवस्था रहेको छ। यस्तो कानूनी व्यवस्थाबीच कारक्याब गेयर प्रालिले बेलायतमा दर्ता भएको ज्यागुअरको आईपेस विद्युतीय कार कसरी जाँचपास गर्यो? गम्भीर प्रश्न उठेको छ।
कारक्याबले ल्याएको ज्यागुअरको आईपेसमा बेलायती दर्ता नम्बर रहेको छ। चोभार भन्सारको यार्डमा देखिएका दुईवटा ज्यागुअर आईपेसमा केपी २५ एजेएक्स र केएन २५ एनजेडजी लेखिएको छ। यो भनेको बेलायतमा दर्ता भएर बिक्री भएको गाडीमा दिइने नम्बर हो।
यो दर्ता नम्बरले के स्पष्ट रुपमा देखाउँछ भने कारक्याब गेयर प्रालिले नेपालमा नयाँ भनेर बिक्रीका लागि आयात गरेको ज्यागुअरको आईपेस कार रिकन्डिसनबाट खरिद गरेर ल्याएको वा चोरीको कार हुनसक्ने देखिन्छ। चोरीको कार हो भने पनि त्यो सेकेन्ड ह्यान्ड नै हो।
कारक्याब गेयर प्रालि उत्पादक कम्पनीसँग आधिकारिक बिक्रेताको सम्झौता गरेर नभइ उत्पादक कम्पनीसँग कुनै साइनो सम्पर्क नै नभएको कम्पनीसँग आधिकारिक बिक्रेताको सम्झौता गरेर ज्यागुअरको कार आयात गरेको हो।
ज्यागुअरले २०२४ देखि नै विद्युतीय तथा अन्य कार उत्पादन बन्द गरेको छ। हालसम्म कम्पनीले पुनः कार उत्पादन सुरु गरेको छैन। कम्पनीले नै उत्पादन बन्द गरेको कार कसरी र कुन आधारमा नेपालको वाणिज्य विभागले एजेन्सी दर्ता दियो? यो पनि गम्भीर विषय हो।
कारक्याब गेयर प्रालिले बेलायतबाट नभइ अस्ट्रियाबाट आयात गरेको देखाएको ज्यागुअर आईपेस विद्युतीय कार चोभार भन्सारबाट जनवरी १३ तारिखमा जाँचपास भएको छ। कम्पनीले ४ वटा ज्यागुअर आईपेस आयात गर्न लागेकोमा एउटा कार जनवरीमै जाँचपास भएको हो भने अन्य कार पनि जाँचपास भइसकेको हुनसक्छ।
२०२४ को सुरुदेखि नै कार उत्पादन बन्द गरेको ज्यागुअरले नेपालमा कुनैपनि आधिकारिक बिक्रेता दिएको छैन। यसबारेमा कम्पनीले नै बिजनेस न्युजले इमेलमार्फत सोध्दा बताएको थियो।
कारक्याब गेयर प्रालिले करिब दुई वर्ष पुरानो कार ल्याएको प्रष्ट हुन्छ। यसको मूल्य ३४९७.८० पाउन्डमा ज्यागुअर आईपेस कारको खरिद मूल्य, फ्रेट तथा बीमासमेत जोडिएको छ।
बेलायतमा ज्यागुअर आईपेस विद्युतीय कारको सुरुवाती मूल्य ६९ हजार ९ सय ९५ पाउन्ड रहेको थियो। अमेरिकामा यो विद्युतीय कारको सुरुवाती मूल्य ७२ हजार अमेरिकी डलर रहेको छ। तर भन्सार जाँचपास गर्दा कारक्याब गेयरको सेटिङ भएकाले कुनै सोधीखोजीबिनै जाँचपास भएको देखिन्छ।
२०२४ मै उत्पादन बन्द भएको ज्यागुअर ब्रान्डको आधिकारिक बिक्रेता र ईभी कसरी आयो नेपाल?
मौलाउँदो अवैध आयात : कारक्याब गेयरले ल्यायो ज्यागुअरको विद्युतीय कार आईपेस
ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन
