काठमाडौं- २०५२ सालदेखि १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको नेतृत्व गर्ने अहिलेको नेकपाले फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनका लागि घोषणापत्र जारी गरिसकेको छ। आगामी निर्वाचनमा आफ्नो दलले निर्वाचन जितेको खण्डमा वा सरकार बनाउने अवसर पाएको खण्डमा के-के गर्ने भन्ने प्रतिबद्धता उक्त दस्तावेजमा समावेश गरिएको छ।
घोषणापत्रको सुरुवातमै नेकपाले आफ्नो दललाई विचारका हिसाबले प्रष्ट, भविष्यका हिसाबले स्पष्ट योजना भएको अग्रगामी दल भनेको छ भने कांग्रेस एमालेलाई यथास्थितिमा रमाउने दल भनेको छ। त्यस्ते राप्रपालाई पश्चगामी दलको ट्याग लगाएको नेकपाले रास्वपालाई विचारविहीन भिडका रुपमा व्याख्या गरेको छ।
विचार, सिद्धान्तको जगमा खडा भएको भनेर दाबी गर्ने नेकपा आफै शासकीय प्रणाली र सिद्धान्तका विषयमा भने ढुलमुले, विरोधाभासमा रमाएको जस्तो देखिएको छ। उक्त दल आफैले ल्याएको घोषणापत्रमा उल्लेखित विषयले यो दल आफै विचार, सिद्धान्तमा अस्पष्ट रहेको देखिन्छ। आर्थिक नीति कस्तो हुने, कार्यक्रम के हुने? कस्ता हुने भन्ने विषयमा आधारभूत रुपमा एकरुपता छैन।
अझ नेकपाले जे लेखेको छ त्यस्तै नीति उसले लिने हो भने त लगानीको वातावरण बन्नेभन्दा बिग्रिने जोखिम छ। राजनीतिक जार्गनको अत्यधिक प्रयोग गरिएका कार्यक्रम एउटा, सैद्धान्तिक प्रतिबद्धता अर्को छ। कतिपय तथ्यांकीय बेमेल त सामान्य नै भयो।
राजनीतिक, सामाजिक रुपमा गरिने भाषाणको लिखित रुपबाहेक यसमा विचारको स्पष्टता कम्तिमा आर्थिक क्षेत्रमा देखिँदैन।
जस्तो नेकपाको मूल राजनीतिक प्रतिबद्धतामा अर्थनीतिक कस्तो हुने भन्ने कुरा उल्लेख गरिएको छ। नेकपाले आफ्नो लक्ष्य नेपाली विशेषताको वैज्ञानिक समाजवाद बताएको छ। यो यस्तो समाजवाद हो जहाँ स्रोतको समान वितरणमात्र होइन साधनमाथिको व्यक्तिगत स्वामित्वको अन्त्य पनि हो। यो घोषित नीतिअनुसार नेकपाले उदार अर्थतन्त्रलाई कतै पनि स्वीकार गरेको छैन।
यस्तै मेल खाने अर्को कार्यक्रम छ- अर्थतन्त्रको चौथो खम्ब निर्माण गर्ने। सरकारी, निजी, सहकारीलाई तीन खम्बा भनिँदै आएकोमा सामुदायिक क्षेत्रलाई समेटेर चौथो खम्बाको विकास गर्ने उल्लेख गरिएको छ।
यी यस्ता कार्यक्रम हुन् कि नेकपा नेपाली अर्थतन्त्रमा निजी लगानीको भविष्य समाप्त पार्न चाहन्छ। स्वामित्वमाथिको अंकुश देखाउने प्रतिबद्धता छन्।
अहिलेसम्म अर्थतन्त्रले गति नलिनुका पछाडि नवउदारवाद हाबी भएको भनेको नेकपाले फेरि वैज्ञानिक समाजवाद स्थापनाका लागि विदेशी लगानी ल्याउने लक्ष्य पनि लिएको छ। जुन देशको अन्तिम लक्ष्य सामूहिक स्वामित्व हो त्यहाँ विदेशी लगानी कसरी आउँछ? त्यो उल्लेख गरिएको छैन।
निजी लगानी, विदेशी लगानी ल्याएर देशमा विकास गर्ने भनेर उदार अर्थतन्त्रका उपकरणको व्यापक परिचालन गर्नुपर्छ पनि भनेको नेकपाले मूल प्रतिबद्धता भने वैज्ञानिक समाजवाद छाडेको छैन।
वैज्ञानिक समाजवादको हिमायतीले शिक्षा र स्वास्थ्यको निजीकरणका बारेमा अनोठो वाक्यांश प्रयोग गरेको छ- सेवामूलक व्यवसाय बनाउने। विशिष्टिकृत क्षेत्रमा निजी लगानी ल्याउने।
अर्को बेमेल हो कृषिमा रोजगारीको सिर्जना गर्ने भन्ने।
कृषि क्षेत्रलाई निकै प्राथमिकता दिएको नेकपाले राज्य संरक्षित कृषि भनेको छ तर यो क्षेत्रमा थप रोजोगारी सिर्जना गर्छु भन्ने दलले वर्तमानको जनसांख्यिक तथा श्रम तथ्यांका बारेमा अनभिज्ञ देखिएको मान्नुपर्ने हुन्छ।
कृषिमा अहिले नै करिब ६० प्रतिशत जनसंख्या आश्रित रहेको छ। हाम्रा किसानको अवस्था यस्तो छ कि आफ्नै उत्पादनले वर्षभर पर्याप्त खान पुग्दैन। अहिल भएकै किसानको आम्दानी र उत्पादन बढाउन सके पर्याप्त हुनेमा रोजगारी बढाउने भनिएको छ।
