काठमाडौं- इलेक्ट्रोनिक्स कम्पनी सीजी इलेक्ट्रोनिक्सले आफ्नो विशेष ‘वर्ल्डकप मुम्बई ट्रिप योजना’का विजेताहरूलाई मुम्बई प्रस्थान गराएको छ। योजनाका ४० जना भाग्शाली विजेताहरूलाई आज शुक्रबार मुम्बई पठाएको हो।
जारी आईसीसी टी-२० पुरुष विश्वकपअन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल मुम्बईको वानखेडे स्टेडियमबाटै प्रत्यक्ष हेर्ने अवसर पाएका भाग्यशाली विजेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुम्बई उडेका हुन्।
कम्पनीले गत मंसिर २९ गतेदेखि माघ १२ गतेसम्म सञ्चालन गरेको वर्ल्डकपलक्षित योजनामा ग्राहकहरूको उत्साहजनक सहभागिता थियो। उक्त समयावधिमा सीजी इलेक्ट्रोनिक्सअन्तर्गतका विश्वप्रख्यात ब्रान्डहरू एलजी, सीजी, सीजी एसडीए, टीसीएल, ब्ल्याक प्लस डेकर, गोदरेज, सेन्साई, माइडिया, केन्ट र क्राम्प्टनका उत्पादनहरू खरिद गरी हजारौँ ग्राहकहरूले एसएमएसमार्फत सहभागिता जनाएका थिए। सहभागीहरूमध्येबाट डिजिटल गोलाप्रथामार्फत ४० जना भाग्यशाली विजेताहरू छनोट गरिएको हो।
विजेताहरूले ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्। कम्पनीका अनुसार यस प्याकेजमा काठमाडौं-मुम्बई-काठमाडौं दुईतर्फी हवाई टिकट, मुम्बईस्थित तारे होटलमा बसाइ तथा खानपिनको व्यवस्था गरिएको छ।
साथै विजेताहरूले मुम्बईको प्रसिद्ध स्थानहरूको अवलोकन भ्रमण (सिटी टुर) गर्ने अवसर पाउनाका साथै वानखेडे स्टेडियममा हुने नेपाल र वेस्ट इन्डिजबीचको खेलको विशिष्ट टिकटसमेत प्राप्त गरेका छन्।
