बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नवलपरासी मेरो राजनीतिक क्षेत्र हो, मन र मुटु नवलपरासीमै छ : विनोद चौधरी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २९ २०८२
नवलपरासी मेरो राजनीतिक क्षेत्र हो, मन र मुटु नवलपरासीमै छ : विनोद चौधरी

नले जेनजी आन्दोलनले उठाएको विकास, औद्योगिक विस्तार र आर्थिक रूपान्तरणको मागलाई कांग्रेसले आत्मसात् गरेको उल्लेख गर्दै नेतृत्वमा र उमेदवार चयनमा आएको नयाँपन नै यसको प्रमाण भएको बताए।

नवलपरासी- नेपाली कांग्रेसका नवलपरासी पश्चिम क्षेत्र नं. १ का प्रतिनिधिसभा उमेदवार विनोद चौधरीले नवलपरासी आफ्नो राजनीतिक केन्द्र मात्र नभई मन, मुटु र प्राथमिकता भएको क्षेत्र रहेको बताएका छन्।

प्रतापपुरमा आयोजित नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समिति कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले आफूले निःस्वार्थ रूपमा यस क्षेत्रको विकासमा लागेको र निकट भविष्यमा नवलपरासीले विकासमा ठूलो छलाङ मार्ने समेत बताए।

त्यसैगरी चौधरीले फागुन २१ को आम निर्वाचनलाई केवल सरकार परिवर्तन गर्ने अवसर नभई देशको दिशा र सोच रूपान्तरण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरे। उनले जेनजी आन्दोलनले उठाएको विकास, औद्योगिक विस्तार र आर्थिक रूपान्तरणको मागलाई कांग्रेसले आत्मसात् गरेको उल्लेख गर्दै नेतृत्वमा र उमेदवार चयनमा आएको नयाँपन नै यसको प्रमाण भएको बताए।

'रूपान्तरणको मागलाई सम्बोधन गर्न कांग्रेस आफै रूपान्तरण भएको छ। नेतृत्वमा रूपान्तरण भयो, उमेदवारमा रूपान्तरण भयो,' उनले भने, 'नयाँ विकल्प खोजिरहेका आम नेपालीका लागि कांग्रेस यसपटक सबैभन्दा उपयुक्त विकल्प बनेको छ।'

देशका कुना-कुनाबाट खोजी गरी सक्षम, परिणाममुखी र नयाँ सोच भएका उमेदवारलाई अघि सारिएको बताउँदै उनले नवलपरासीप्रति आफ्नो विशेष जिम्मेवारी र प्रतिबद्धता दोहोर्‍याए। विगतमा नवलपरासी क्षेत्रमा स्वास्थ्य, उद्योग र पूर्वाधार अत्यन्तै कमजोर रहेको स्मरण गराउँदै उनले सांसदको तीन वर्षे अवधिमा अस्पतालहरू खुल्ने र स्तर उन्नति हुने, पुल निर्माण अघि बढ्ने तथा औद्योगिक क्षेत्र विस्तारतर्फ काम भइरहेको जानकारी दिए।

अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै उनले आगामी दिनमा विकासको गति थप तीव्र पार्ने प्रतिबद्धता व्यक्त गरे र आफ्नो एउटै सपना विकासका साथ समृद्ध नवलपरासी बनाउने रहेको उल्लेख गरे।


प्रकाशित : बिहीबार , माघ २९ २०८२१६:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend