बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ज्यागुअर आईपेसमा अन्डर इन्भोइस : सीआईएफ भ्यालु ३४९०७.८० पाउन्ड, अष्ट्रियाबाट आयात

बेलायतमा ६९९९५ हजार पाउन्ड र अमेरिकामा ७२००० डलर, भन्सार कार्यालयको अन्देखा

सोमबार, फागुन ४ २०८२
ज्यागुअर आईपेसमा अन्डर इन्भोइस : सीआईएफ भ्यालु ३४९०७.८० पाउन्ड, अष्ट्रियाबाट आयात

कारक्याब गेयर प्रालिले करिब दुई वर्ष पुरानो कार ल्याएको प्रष्ट हुन्छ भने बेलायतमा ६९ हजार ९ सय ९५ पाउन्ड बिक्री मूल्य रहेको आईपेस नेपालको भन्सार घोषणा मूल्य जम्मा ३४ हजार ९ सय ७.८० पाउन्ड रहेको छ।

काठमाडौं- कारक्याब गेयर प्रालिले हालै नेपाल ल्याएको ज्यागुअरको आईपेस विद्युतीय कार अस्वाभाविक मूल्यमा आएको पाइएको छ। एक त उत्पादक कम्पनीले उत्पादन बन्द गरेको डेढ वर्षपछि नयाँ कार भन्दै आयात गरिएको छ भने अर्कोतर्फ ज्यादै न्यून मूल्यमा आयात गरेर न्यून बिजकीकरण गरिएको छ। 

बेलायतमा दर्ता भइसकेर बेलायती नम्बर प्लेटसहित आएको उक्त कार नेपालमा नयाँ भनेर बिक्रीका लागि आयात गरेको भए पनि रिकन्डिसनबाट खरिद गरेर ल्याएको वा चोरीको कार हुनसक्ने देखिन्छ।

२०२४ को सुरुदेखि नै कार उत्पादन बन्द गरेको ज्यागुअरले नेपालमा कुनैपनि आधिकारिक बिक्रेता दिएको छैन। यसबारेमा कम्पनीले नै बिजनेस न्युजले इमालमार्फत सोध्दा बताएको थियो।

कारक्याब गेयर प्रालिले करिब दुई वर्ष पुरानो कार ल्याएको प्रष्ट हुन्छ भने बेलायतमा ६९ हजार ९ सय ९५ पाउन्ड बिक्री मूल्य रहेको आईपेस नेपालको भन्सार घोषणा मूल्य जम्मा ३४ हजार ९ सय ७.८० पाउन्ड रहेको छ। यो मूल्य अर्थात ३४ हजार ९ सय ७.८० पाउन्डमा ज्यागुअर आईपेस कारको खरिद मूल्य, फ्रेट तथा बीमासमेत जोडिएको छ।

कारक्याब गेयरले ज्यागुअर आईपेस विद्युतीय कार २५ हजार पाउन्ड हाराहारीमा मात्र खरिद गरेको देखिन्छ। क्यारक्याबले या त सेकेन्ड ह्यान्ड कार किनेर ल्याएको हो या त अन्डर इन्भोइस गरेर ज्यागुअर आईपेस ल्याएको प्रष्ट हुन्छ। 

बेलायतमा ज्यागुअर आईपेस विद्युतीय कारको सुरुवाती मूल्य ६९ हजार ९ सय ९५ पाउन्ड रहेको थियो। अमेरिकामा यो विद्युतीय कारको सुरुवाती मूल्य ७२ हजार अमेरिकी डलर रहेको छ। तर भन्सार जाँचपास गर्दा कारक्याब गेयरको सेटिङ भएकाले कुनै सोधीखोजीबिनै जाँचपास भएको देखिन्छ। 

ज्यागुअरको आईपेस बेलायती नम्बर प्लेटसहित चोभारमा, कसरी गरियो सेकेन्ड ह्यान्ड गाडी आयात? ज्यागुअरको आईपेस बेलायती नम्बर प्लेटसहित चोभारमा, कसरी गरियो सेकेन्ड ह्यान्ड गाडी आयात?

कारक्याब गेयर प्रालि किशोर बादे श्रेष्ठको कम्पनी हो। यसअघि श्रेष्ठले किशोर गेयर तथा युरो गेयर प्रालि कम्पनीमार्फत ज्यागुअर तथा ल्यान्ड रोभरका कार आयात गर्दै आएका थिए।

सन् २०१६ सम्म ज्यागुअर ल्यान्ड रोभरको आधिकारिक बिक्रेता किशोर/युरो गेयर प्रालि रहेको थियो। त्यसयता २०२०/०२१ सम्म अवैध बाटोबाट कम्पनीले ज्यागुअर तथा ल्यान्ड रोभरका कार आयात गर्दै आएको थियो। त्यसपछि किशोर श्रेष्ठले अहिले कारक्याब गेयर प्रालि कम्पनी बनाएर फेरि अवैधरुपमा ज्यागुअरका कार ल्याएका हुन्। 

कारक्याब गेयर प्रालिले ज्यागुअरको आईपेस विद्युतीय कार अष्ट्रियाबाट आयात गरेर ल्याएको भन्सारमा घोषणा गरेको कागजातमा उल्लेख छ। चोभार सुक्खा भन्सार (सीबीआर ०१) बाट उक्त कार २०२६ जनवरी १३ तारिखमा प्रज्ञापन पत्र नम्बर एम ५१ बाट जाँचपास भएको देखिन्छ। 

ज्यागुअर आईपेस आरएचडी ईभी ४०० आर-डाइनामिक मोडल नाम रहेको यो विद्युतीय कारमा २ सय ९४ किलोवाट मोटर पावर रहेको उल्लेख छ। 

सामान्यत: तेस्रो देशबाट आयात गरिएका सवारीसाधनहरु वीरगञ्ज वा तराईका अन्य भन्सार कार्यालयहरुबाट जाँचपास भएरै काठमाडौं आउने गरेका छन्। तर कारक्याब गेयरले ज्यागुअरको जाँचपास गराउन चोभार सुक्खा भन्सार कार्यालय ल्याएको हो। यसबाट पनि कारक्याब गेयरको नियत शंकास्पद देखिन्छ।

वीरगञ्ज भन्सार कार्यालयले यसअघि मनकामना इन्जिनियरिङले ल्याएको ल्यान्ड रोभरकै रेन्ज रोभर कारमा अन्डर इन्भोइस भएको भन्दै नयाँ मूल्य कामय गराएको थियो। केही वर्षअघि ४९ हजार डलरमा ल्याएकोमा वीरगञ्ज भन्सारले ९२ हजार डलर मूल्य कायम गरेर सोहीअनुृसार थप कर र जरिवाना लगाएको थियो। 

कारक्याब गेयर प्रालिका सञ्चालकलाई यी सबै कुराको ज्ञान भएकाले ज्यागुअर आईपेसको जाँचपास गराउन नयाँ भन्सार कार्यालय चोभार ल्याएको देखिन्छ। 

बेलायती विलासी कार निर्माता कम्पनी ज्यागुअर ल्यान्ड रोभरले ज्यागुअर र ल्यान्ड रोभर दुई अलग ब्रान्डनेममा कार उत्पादन गर्दै आएको छ। कम्पनीले पूर्णविद्युतीय सवारी र अल्ट्रा लक्जरी सवारी ल्याउने भन्दै ज्यागुअर ब्रान्ड नेमका सवारीको उत्पादन २०२४ बाटै बन्द गरेको हो।

ज्यागुअरले २०२६ बाट पुनः कार उत्पादन सुरु गर्नेगरी सबै आईसीई कार र विद्युतीय कारको उत्पादन २०२४ मा बन्द गरेको थियो। तर नेपालमा भने ज्यागुअरको विद्युतीय कार आईपेस त्यो पनि आधिकारिक बिक्रेता देखाएर आयात भएको छ। यसमा कारक्याबलाई ज्यागुअरको एजेन्सी दिने वाणिज्य विभागको निर्णय नै खोटपूर्ण देखिन्छ। 

ट्रान्जिसनको अवस्थामा रहेको कम्पनीले आधिकारिक बिक्रेताको नियुक्ति दियो भनेर कारक्याब गेयर प्रालिले देखाएको किर्ते कागजातका आधारमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक प्रलोभनमा एजेन्सी दर्ताको प्रमाणपत्र दिएको प्रष्ट हुन्छ।

यसरी एजेन्सी दर्ता हुँदा देशको लाखौँ विदेशी मुद्रा सञ्चिति सेकेन्ड ह्यान्ड (रिकन्डिसन) गाडी आयातमा गएको छ। अथवा आईपेस विद्युतीय कार कम मूल्य देखाइ अन्डर इन्भोइस गरेर ल्याएको प्रष्ट हुन्छ। 

उत्पादन नै बन्द भएको गाडीको किर्ते कागजात बनाएर तेस्रो पक्षबाट खरिद गरिएको भन्दै पुराना तथा सेकेन्ड ह्यान्ड महँगा कार कारक्याब गेयर प्रालि नामक कम्पनीले ज्यागुअरको कार आयात गरेको हो। कारक्याब गेयर प्रालिले २०८२ भदौमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट एजेन्सी दर्ताको प्रमाणपत्र लिएको थियो। 

युरो गेयर प्रालि, किशोर गेयर प्रालिपछि किशोर बादे श्रेष्ठले कारक्याब गेयर प्रालि कम्पनी बनाएर फेरि कार आयात सुरु गरेका हुन्। किशोर गेयर प्रालि र युरो गेयर प्रालिले विगतमा ज्यागुअर ल्यान्ड रोभर, प्युजो तथा मर्सिडिज बेन्जका कार आयात गर्दै आएको थियो।

२०१६ को मध्यदेखि भने ज्यागुअर ल्यान्ड रोभरको आधिकारिक बिक्रेताको नियुक्ति अवधि सकिएको थियो। त्यसपछि पनि कम्पनीले अवैध रुपमा ज्यागुअर ल्यान्ड रोभरका कार आयात गरिरहेको थियो। कोभिडपछि भने युरो गेयर/किशोर गेयरले कार आयात गरेको थिएन।

२०२४ मै उत्पादन बन्द भएको ज्यागुअर ब्रान्डको आधिकारिक बिक्रेता र ईभी कसरी आयो नेपाल? २०२४ मै उत्पादन बन्द भएको ज्यागुअर ब्रान्डको आधिकारिक बिक्रेता र ईभी कसरी आयो नेपाल?

मौलाउँदो अवैध आयात : कारक्याब गेयरले ल्यायो ज्यागुअरको विद्युतीय कार आईपेस मौलाउँदो अवैध आयात : कारक्याब गेयरले ल्यायो ज्यागुअरको विद्युतीय कार आईपेस

ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन ज्यागुअर ल्यान्ड रोभरले भन्यो - नेपालमा हाम्रो कुनै आधिकारिक बिक्रेता छैन


प्रकाशित : सोमबार, फागुन ४ २०८२१६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend