काठमाडौं- पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्लो २५ वर्षमा २६ लाख ३२ हजार ४ जना विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार सन् २००१ मा ६५ हजार ३ सय १३ जना पर्यटक आएकामा सन् २०२५ मा हालसम्मकै बढी दुई लाख ९९ हजार ८ सय ३१ जना पर्यटक भित्रिएका छन्। उक्त अवधिमा सबैभन्दा कम सन् २०२१ मा जम्मा १६ हजार १ सय ५ जना पर्यटकले यस क्षेत्रको भ्रमण गरेको ‘एक्याप’को आँकडाले देखाएको छ।
कोभिड-१९ महामारीका कारण त्यस वर्ष पर्यटक आगमनमा उच्च गिरावट आएको थियो। सन् २००१ देखि सन् २०१० सम्म वार्षिक एक लाखभन्दा कम संख्यामा पर्यटक आएकामा सन् २०११ को नेपाल भ्रमण वर्षमा भने पर्यटक १ लाख नाघेका थिए। उक्त वर्ष १ लाख १ हजार ९ सय ८ जना पर्यटक यस क्षेत्रमा भित्रिएका थिए।
त्यसपछि सन् २०१५ मा गएको गोरखा भूकम्पका कारण पनि पर्यटक आगमन घटेर ७८ हजार ९ सय ३० जनामा झरेको थियो। त्यसयता बर्सेनि बढ्दै आएको पर्यटक संख्या सन् २०२० र सन् २०२१ को कोरोना महामारीका बेला घट्न पुगेको थियो। सन् २०२२ पछि भने पुनः पर्यटक संख्या बढेको देखिन्छ। सन् २०२२ मा १ लाख २९ हजार ७ सय २३, सन् २०२३ मा १ लाख ९१ हजार ५ सय ५८, सन् २०२४ मा २ लाख ४४ हजार ३९ र गत वर्ष अर्थात सन् २०२५ मा २ लाख ९९ हजार ८ सय ३१ जना पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन्।
गत वर्ष आएका पर्यटकमध्ये दक्षिण एसियाली मुलुकका १ लाख ७७ हजार ६ सय २८ र अन्य मुलुकका १ लाख २२ हजार २ सय ३ जना रहेका ‘एक्याप’का प्रमुख डा रबिन कडरियाले जानकारी दिए। सन् २०२५ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको उनले बताए। 'पर्यटक आगमन बर्सेनि बढ्दो छ, पदयात्रामा रमाउनेदेखि धार्मिक पर्यटकसम्म यस क्षेत्रमा आउने गरेका छन्,' उनले भने।
अन्नपूर्ण चक्रिय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा वर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ।७ हजार ६ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ। प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ।
कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ। आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन्। रासस
