बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल युएई संयुक्त समिति बैठक : नेपाली श्रमिकको सामाजिक सुरक्षा र पारिश्रमिक वृद्धिमा जोड

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १ २०७८
नेपाल युएई संयुक्त समिति बैठक : नेपाली श्रमिकको सामाजिक सुरक्षा र पारिश्रमिक वृद्धिमा जोड

काठमाडौं- नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त समिति बैठक आज आबुधावीमा हुँदैछ। उक्त बैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने बताइएको छ।

उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन्।

बैठकमा नेपाल र युएईबीच सन् २०१९ मा भएको श्रम सम्झौता कार्यान्वयनबारे समीक्षा हुने श्रम मन्त्रालयले जनाएको छ।

यस्तै यसअघि भएको संयुक्त समितिको बैठकका निर्णय कार्यन्वयन पक्षमा पनि छलफल गरिने भएको छ। बैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थलमा सुरक्षा, स्वास्थ्य र बीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायत विषयमा पनि छलफल गरिने भएको छ। पर्यटन प्रवेशाज्ञामा आएर अलपत्र परेका नेपालीका समस्या समाधानबारे पनि बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ।

युएईको भ्रमणमा रहेका मन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अवारबीच आज भेटवार्ता हुँदैछ। भेटवार्ताका क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न विषयमा छलफल हुनेछ।

सो अवसरमा मन्त्री श्रेष्ठले पर्यटन प्रवेशाज्ञा र सोबाट सिर्जित समस्या समाधानका उपायबारे आफ्ना समकक्षीसँग छलफल गर्नुहुने उनको सचिवालयले जनाएको छ। मन्त्री श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सोमबार युएई प्रस्थान गरेको थियो। आबुधावीस्थित विमानस्थलमा नेपाली प्रतिनिधिमण्डललाई युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले स्वागत गरेका थिए।

बुधबार मन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजना हुने नेपाली श्रमिकले भोगेका समस्या र समाधानका उपायबारे नेपाली समुदायसँग छलफल गर्ने बताइएको छ। रासस 


प्रकाशित : मंगलबार, चैत १ २०७८०६:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend