पोखरा- रोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोडस्टर हन्टर ३५० पोखरामा लन्च गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध गराएको छ। काठमाडौंमा सफल लन्चपछि कम्पनीले पोखरास्थित शोरुममार्फत टेस्ट-राइड र बुकिङ कार्यक्रम सुरु गरेको हो।
विश्वका सहरी जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज एर्गोनोमिक डिजाइनसहितको बीएस भीआई हन्टर ३५०, २०२५ संस्करण पोखराका सहरी तथा पहाडी सडक दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।
मोटरसाइकलमा स्लिप एसिस्ट क्लच, १६० एमएम ग्राउण्ड क्लियरेन्स, डुअल च्यानल एबीएस, एलईडी हेडल्याम्प, सुधारिएको सिट र ट्रिप नेभिगेटरजस्ता सुविधा समावेश छन्। यसमा प्रयोग गरिएको ३४९ सीसी जे सिरिज इन्जिनले दैनिक सवारीमा चुस्ती र आरामदायी अनुभव दिने बताइएको छ। सन् २०२२ देखि हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडरले यो मोडेल रोजिसकेका छन्।
रोयल इन्फिल्डका निर्देशक मेघराज पौडेल भन्छन्, 'पोखराजस्तो पर्यटन र एड्भेन्चरले भरिएको सहरका लागि हन्टर ३५० अत्यन्त उपयुक्त मोडेल हो। यहाँको सहरी जीवनशैली र पहाडी सडक दुवैमा सहज र रमाइलो राइडिङ अनुभव दिने विश्वास लिएका छौँ। गण्डकी प्रदेशका राइडरहरूसँग अझ नजिकिन पाउँदा हामी उत्साहित छौँ।'
कम्पनीका अनुसार हन्टर ३५० को मूल्य डुअल टोन ४ लाख ९९ हजार ९ सय रुपैयाँ सिंगल टोनको ४ लाख ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ। पोखरास्थित रोयल इन्फिल्ड शोरुममा टेस्ट-राइड तथा तत्काल डेलिभरी उपलब्ध छ।
रोयल इन्फिल्ड सन् १९०१ देखि उत्पादनमा रहेको संसारकै सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्डमध्ये एक हो। 'पियोर मोटरसाइकलिङ' दर्शनका साथ कम्पनीले मध्यम क्षमताका प्रिमियम मोटरसाइकल उत्पादनमा विश्वव्यापी पहिचान बनाएको छ। ब्रान्डका प्रमुख मोडेलहरूमा हन्टर ३५०, क्लासिक ३५०, मेटियर ३५०, हिमालयन ४५०, इन्टरसेप्टर ६५० लगायतका सिरिज समावेश छन्।
आइचर मोटर्स लिमिटेडअन्तर्गत सञ्चालन हुने रोयल इन्फिल्डले भारतभर २ हजारभन्दा बढी स्टोर तथा विश्वका ६५ भन्दा बढी देशमा सेवा विस्तार गरेको छ। कम्पनीका उत्पादन केन्द्रहरू भारतमा छन् भने नेपालसहित विभिन्न देशमा सीकेडी एसेम्बली सुविधा सञ्चालनमा छन्।
