बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

६ महिनामा १ खर्ब ७७ अर्ब निजी कर्जा विस्तार : उपभोग्य क्षेत्रमा आकर्षण, सुनचाँदी कर्जा १९ प्रतिशतले बढ्यो

आइतबार, माघ २५ २०८२
६ महिनामा १ खर्ब ७७ अर्ब निजी कर्जा विस्तार : उपभोग्य क्षेत्रमा आकर्षण, सुनचाँदी कर्जा १९ प्रतिशतले बढ्यो

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशत अर्थात १ खर्ब ७७ अर्ब ६६ करोड ९ लाख रुपैयाँँले बढेको रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब ६५ अर्ब ५६ करोड अर्थात ५.२ प्रतिशत रहेको थियो।

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.४ प्रतिशत अर्थात १ खर्ब ७६ अर्ब ६९ करोड ८ लाख रुपैयाँँले बढेर ५७ खर्ब ७९ अर्ब ७४ कराेड पुगेकाे छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा ५५ खर्ब ९२ अर्ब ७ कराेड रुपैँया रहेकाे थियाे।

आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा क्षेत्रगत लगानीको अवस्था हेर्दा उपभोग्य क्षेत्रमा बैंकहरूको लगानी सबैभन्दा धेरै देखिएको छ। उपभोग्य क्षेत्रतर्फको लगानी सबैभन्दा धेरै १० अर्ब ५० करोड २४ लाखले बढेर १२ खर्ब ५६ अर्ब ७९ करोड ३१ लाख पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो रकम ११ खर्ब ५१ अर्ब ७६ करोड ८८ लाख रहेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यो रकम  अर्थात ९.१ प्रतिशतले बढेको हो।

पछिल्लो ६ महिनामा यो क्षेत्र अन्तर्गत सबैभन्दा धेरै सुन र चाँदीमा १९ प्रतिशत अर्थात १६ अर्ब १९ करोड ७३ लाखले प्रवाहित कर्जा बढेर १ खर्ब ९९ करोड ८९ लाख पुगेको छ। गत आर्थिक वर्षको अन्यसम्म यस्तो कर्जा ८४ अर्ब ८० करोड १६ लाख कर्जा प्रवाह भएको थियो।

विशेषगरी सुन र चाँदीको मूल्यमा आएको भारी वृद्धिका कारण सर्वसाधारणले आफ्नो सञ्चित सुन धितो राखेर पाउने ऋणको रकम बढेको हो। बैंकहरूले सुनको बजार मूल्यका आधारमा ऋण दिने हुनाले सुन महँगो हुँदा कर्जाको आकार पनि स्वतः ठूलो देखिन्छ। अर्कोतर्फ, पछिल्लो समय बैंकहरूले अन्य जोखिम खालका ऋण दिनुभन्दा सुनमा  सुरक्षित र छिटो असुल हुने क्षेत्रमा लगानी गर्न रुचाएका छन्।

त्यसैगरी क्रडिट कार्ड कर्जा पनि १ अर्ब ४ करोड ४६ लाख रुपैयाँँले बढेर ७ अर्ब २६ करोड ९३ लाख पुगेको छ। यो अधिल्लो आर्थिक वर्षको तुलनामा १६.८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म यस्तो रकम ६ अर्ब २२ करोड २७ लाख पुगेको छ।

पछिल्लो समय डिजिटल कारोबारप्रतिको बढ्दो रुचिले क्रेडिट कार्डको प्रयोग बढाएको छ। अचेल अनलाइन सपिङ गर्दा वा घरायसी सामानहरू किस्ताबन्दी मा लिँदा क्रेडिट कार्ड अनिवार्य जस्तै बन्न थालेको छ। बैंकहरूले पनि ग्राहक लोभ्याउन विभिन्न अफर र छुटहरू ल्याएका कारण यो क्षेत्रमा उल्लेख्य वृद्धि देखिएको हो।

६ महिनाको अवधिमा मुद्दती निक्षेप रसिद तर्फको कर्जा भने १० प्रतिशतले घटेर २४ अर्ब ३८करोड ५७ लाख पुगेको छ अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म यस्तो रकम २७ अर्ब ११ करोड ३१ लाख रुपैयाँँ रहेको थियो। घट्नुको मुख्य कारण ब्याजदरको अन्तर हो।

जब बैंकहरूमा लगानीयोग्य रकम  थुप्रिन्छ। बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाउँछन्। मुद्दती निक्षेपको ब्याज घट्दा त्यही रसिद धितो राखेर लिइने कर्जाको ब्याज पनि सस्तो हुनुपर्ने हो, तर धेरैजसोले महँगो ब्याज भएको मुद्दती खातामा कर्जा लिनुभन्दा नयाँ र सस्तो दरमा पाइने अन्य कर्जा रोज्न थालेका छन्।

अहिले बजारमा तरलता  सहज छ। बैंकहरूसँग प्रशस्त पैसा भएकाले उनीहरूले अन्य प्रकृतिका कर्जाहरू सजिलै दिइरहेका छन्। मुद्दती निक्षेपमा पाइने कम ब्याज र अन्य कर्जाका विकल्पहरू सजिलै उपलब्ध हुनु नै यो कर्जा घट्नुको प्रमुख कारण हो।

यस्तै बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जा निर्माण क्षेत्रतर्फ कर्जा ७.२ प्रतिशत अर्थात १६ अर्ब ६६ करोड २७ लाख रुपैयाँँले बढेर २ खर्ब ४८ अर्ब ५ करोड ५३ लाख पुगेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म यस्तो रकम २ खर्ब ३१ अर्ब ३९ करोड २६ लाख रहेको थियो। यो क्षेत्र अन्र्तगत भौतिक पूर्वाधार निर्माण मा कर्जा प्रवाह १२.६ प्रतिशतले बढेर १ खर्ब ४४ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म यस्तो रकम १ खर्ब २८ अर्ब ३५ करोड ५ लाख रहेको थियो नेपालमा अहिले मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, र विभिन्न सुरुङ मार्ग को काम भइरहेको छ।

यी ठूला आयोजनाहरूमा निर्माण व्यवसायीले मेसिनरी खरिद गर्न र कार्य सञ्चालन गर्न बैंकबाट ऋण लिने गर्छन। जसले गर्दा कर्जा प्रवाह बढेको देखिन्छ। त्यसैगिर जलविद्युत आयोजनाहरू निर्माण तथा स्थानीय तह र प्रदेशका पूर्वाधार स्थानीय र प्रदेश तहमा पनि पुल, सडक र प्रशासनिक भवनहरू निर्माण हुने क्रम बढेको छ। यी साना तथा मझौला निर्माण कार्यमा संलग्न ठेकेदारहरूले बैंकबाट लिने ऋणले पनि कुल प्रवाहमा योगदान पु¥याएको छ।

६ महिनामा निर्माण क्षेत्रको गैर-आवासीय कर्जा ८.१ प्रतिशतले बढेर ३२ अर्ब २० करोड ९९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा यस्तो कर्जा २९ अर्ब ८० करोड ७१ लाख रुपैयाँँ रहेको थियो। त्यसैगरी आवासीय कर्जा २.६ प्रतिशतले घटेको छ।

बैंक तथा वितिय संस्थाहरुले कर्जा प्रवाह बढाएको अर्को क्षेत्र हो यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्र। यो क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशत अर्थात २९ अर्ब ३९ करोड रुपैयाँले बढेको छ।

गत आर्थिक वर्षमा यस्तो कर्जा ४ खर्ब ७६ अर्ब ६२ करोड ३५ लाख रहेकोमा यो आर्थिक वर्षको ६ महिनाको अवधिमा बढेर ५ खर्ब ६ अर्ब १ करोड ३७ लाख रुपैयाँ पुगेको छ।

यो क्षेत्रको अन्य सर्भिसमा १७.९ प्रतिशत, रेलवे तथा यात्रुवाहक सवारी साधन अन्तर्गत १५.६, ढुवानी सेवा तथा भण्डारण व्यवस्थापनमा १०.५ प्रतिशतले कर्जा बढेको छ भने ग्याँस तथा ग्याँस पाईपलाईनमा कर्जा ३.०९ प्रतिशतले घटेको छ।

६ महिनाको अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशत अर्थात् ३९ अर्ब २४ करोड १६ लाख रुपैयाँ बढेर ९ खर्ब २३ अर्ब २८ करोड ९१ लाख रुपैयाँँ पुगेको छ।

गत आर्थिक वर्षमा यस्तो कर्जा ८ खर्ब ८४ अर्ब ४ करोड ७४ लाख रुपैँया रहेको थियो। यो क्षेत्र अन्तर्गत सबैभन्दा धेरै प्रशोधित तेल र कोइला उत्पादनतर्फ १८.९ प्रतिशतले कर्जा प्रवाह बढेको छ। भने रोजिन र तारपिनको तेलर्फ ४२ प्रतिशतले कर्जा प्रवाह घटेको छ। 

धातुजन्य उत्पादन, मेसिन तथा औजार तथा विद्युतीय औजार तथा जडानका सामानहरूअन्तर्गत ६ महिनाको अवधिमा ३ प्रतिशतले बैंक तथा वित्तीय संस्थाहरुले गर्नेे कर्जा प्रवाह बढेर ७५ अर्ब २७ करोड ४७ लाख रुपैयाँ पुगेको छ।

यो क्षेत्रअन्तर्गत इलेक्ट्रोनिक पार्टपुर्जाहरूमा सबैभन्दा धेरै १९.६ प्रतिशतले बढेको छ। चिकित्सा उपकरणहरूमा १४.६ प्रतिशतले बढेको छ भने जेनेरेटर तर्फको कर्जा ९२ प्रतिशतले घटेको छ।

बैंक तथा वित्तीय क्षेत्रले कर्जा प्रवाह गरेको अर्को क्षेत्र हो खानी। यो क्षेत्रअन्तर्गत ११ अर्ब ९६ करोड ४१ लाख बराबर कर्जा प्रवाह भएको छ। यो गत आर्थिक वर्षको तुलनामा १.८ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षमा कर्जा ११ अर्ब ९६ करोड ४१ लाख रुपैयाँ रहेको थियो। कोइलामा कर्जा प्रवाह सबैभन्दा धेरै ९०.७ प्रतिशतले बढेको छ भने म्याग्नेसाइट तर्फको कर्जा प्रवाह १०० प्रतिशतले घटेको छ।

वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले बढेर ४ खर्ब ४५ अर्ब ६० करोड ५५ लाख पुगेको छ। गत आर्थिक वर्षमा यस्तो कर्जा ४ खर्ब ४० अर्ब ७३ करोड ८० लाख रुपैयाँँ रहेको थियो। यो क्षेत्रअन्तर्गत बचत तथा ऋण सहकारी संस्थामा ६ महिनाको अवधिमा ८४.३ प्रतिशतले कर्जा प्रवाह बढेको छ।

गत आर्थिक वर्षमा ३८ करोड ३८ लाख रहेको यस्तो कर्जा यो आर्थिक वर्षको ६ महिनामा बढेर ७० करोड ७१ लाख पुगेको छ। त्यस्तै निजी गैर-वित्तीय संस्थाहरूमा पनि कर्जा प्रवाह ६५.५ प्रतिशतले बढेर ४९ करोड ८० लाख पुगेको छ। गत आर्थिक वर्षमा यस्तो कर्जा ३० ३० करोड ९ लाख रुपैयाँँ रहेको थियो ।

त्यसैगरी अन्य वित्तीय संस्थाहरूमा ५५ प्रतिशतले बढेर १५ अर्ब १७ करोड ४१ लाख रुपैयाँँ कर्जा प्रवाह भएको छ। गत आर्थिक वर्षमा यस्तो कर्जा ९ अर्ब १७ करोड ६४ लाख रुपैयाँँ रहेको थियो। गैरवित्तीय सरकारी संस्थाहरूमा यस्तो कर्जा ४१ प्रतिशतले बढेको छ भने निवृत्तिभरण कोष र बीमा कम्पनीहरूमा यस्तो कर्जा प्रवाह ४२ प्रतिशतले घटेको छ।

सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशत,थोक बिक्रेता र खुद्रा बिक्रेताहरूमा ०.७ प्रतिशतले बढेको छ।

कृषि क्षेत्रतर्फको कर्जा भने १.१ प्रतिशतले घटेको छ। कृषि क्षेत्रतर्फ प्रवाहित कर्जा ४ अर्ब ५७ करोड ७१ लाख रुपैयाँँले घटेको हो। यातायात उपकरण उत्पादन र फिटिंग क्षेत्रतर्फको कजा १.२ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृतिको कर्जा ८.३ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ७.८ प्रतिशत, हायर पर्चेज कर्जा ७.३ प्रतिशत, क्यास क्रेडिट कर्जा ३.० प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा २.९ प्रतिशत, रियल स्टेट कर्जा २.५ प्रतिशत र आवधिक कर्जा २.४ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३.३ प्रतिशतले घटेको छ।

वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको छ। २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश ६४.२ प्रतिशत रहेको थियो। त्यसैगरी व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश ३५.८ प्रतिशत रहेको थियो। 


प्रकाशित : आइतबार, माघ २५ २०८२०७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend