काठमाडौं- उडान सुरक्षामा खेलबाड हुनेगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका कायममुकायम महानिर्देशक देवचन्द्रलाल कर्णले एक निर्णय गरेका छन्। कर्णको सक्रियतामा हचुवाको भरमा सौर्य एयरलाइन्सको एओसी फुकुवा भएको हो।
२०८१ को साउनमा जहाज दुर्घटना भएपछि एउटामात्र उडानयोग्य जहाज भएको सौर्यलाई नियमित उडानका लागि बाटो खोल्ने निर्णय प्राधिकरणले गरिदिएको छ।
सुरक्षामा गम्भीर लापरबाहीका कारणले भएको दुर्घटनामा ज्यान गुमाएका कर्माचारीका आफन्तले अहिलेसम्म राहत पाउन सकेका छैनन्। दुर्घटनाअघिकै सुरक्षा प्रतिबद्धता पूरा नगर्दै सौर्यलाई प्राधिकरणले एओसी नवीकरण गरिदिएको हो।
२०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेकअफको समयमा सौर्यको जहाज दुर्घटना भएको थियो। जहाज दुर्घटनामा एयरलाइन्सका कर्मचारी तथा कर्मचारीको परिवारको सदस्य गरी १८ जनाले ज्यान गुमाएका थिए।
जहाज काठमाडौंबाट पोखरा सी-चेकका लागि जाँदै थियो। जहाज दुर्घटनासँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सलाई ग्राउन्डेड गरेको थियो। ग्राउन्डेड भएसँगै प्राधिकरणले सौर्य एयरको एओसी निलम्बन गरेको थियो।
सौर्यसँग अहिले उडानयोग्य जहाज एउटामात्रै छ। एयरलाइन्सले दुईवटा जहाज रहेको जनाए पनि एउटा जहाज उडानयोग्य छैन। एउटा जहाजका सबै पार्टपुर्जा पहिले नै झिकिएको छ।
आर्थिक रुपमा संकट भोगिरहेको बेलामा नै एयरलाइन्सको जहाज दुर्घटना भएको थियो। अहिले पनि सौर्य एयरलाइन्स आर्थिकरुपमा नै संकटमा छ।
जहाज दुर्घटना हुनुभन्दा एक वर्षअगाडि नै एटीआर जहाज भित्र्याउने बताएको सौर्यले जहाज भने भित्र्याएको छैन। जेट जहाज उडानको खर्च बढी भएकाले एटीआर जहाजमा जाने भन्दै सौर्यले २०८० को भदौ/असोजमा सी-चेक गर्नुपर्ने जहाज समयमा सी-चेक गरेको थिएन।
अन्तत: एटीआर जहाज ल्याउन नसकेपछि २०८० को अन्त्यतिर एउटा जहाज पोखरा लगरेर सी-चेक गरेको थियो भने अर्को सी-चेककै लागि पोखरा लैजाने क्रममा दुर्घटना भएको थियो।
सौर्यका सञ्चालकसँग कर्णको साँठगाँठकै कारण अहिलेको निर्णय भएको हो। सुरक्षाभन्दा पनि साँठगाँठले यस्तो निर्णय भएको प्राधिकरणकै कर्मचारीहरू बताउँछन्।
एउटै जहाजकै भरमा उडानमा फर्कन दिनु भनेको यात्रुलाई अन्याय हुने भन्दै प्राधिकरणकै कर्मचारीबाट एओसी जारी नगर्न सेफ्टी विभागका कर्मचारीले राय दिँदै आएका थिए। तर एयरलाइन्सका मालिक दीपक पोखरेलले महानिर्देशकको जिम्मा पाएका कर्णमात्र नभएर पर्यटन मन्त्रालयको जिम्मा लिएका अनिल सिन्हालाई समेत प्रभावमा पारेर यस्तो निर्णय गराउन सफल भएका छन्। सिन्हासँगको पुरानै सम्बन्ध भएका पोखरेलले कर्णसमेतलाई प्रभावमा पारेका छन्।
नयाँ जहाज ल्याउने, सुरक्षाको ग्यारेन्टीबिना एउटा जहाजबाटै उडानको अनुमति दिनु सिधै विचलनकारी निर्णय हुने प्राधिकरणका सेफ्टी विभागका एक कर्मचारी बताउँछन्।
