बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ : प्रधानमन्त्री सुशीला कार्की

दबाबमा नपरी कानूनको मर्मअनुसार जिम्मेवारी निर्वाह गर्न प्रहरी संगठनलाई निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ १९ २०८२
तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ : प्रधानमन्त्री सुशीला कार्की

आफू कुनै शासकीय आकांक्षा बोकेर नभइ विषम परिस्थितिमा प्रधानमन्त्री भएकाले तोकिएको सयमा प्रतिनिधि सभाको निर्वाचनबाट बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आफू आतुर रहेको पनि उनले स्पष्ट गरिन्।

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई आज पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गरेकी छिन्।

यही माघ ४ गतेदेखि सुरु भएको सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै सरकारका प्राथमिकताका रूपमा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा भइरहेका कामबारे सदस्यहरूलाई जानकारी गराइन्।

आफू कुनै शासकीय आकांक्षा बोकेर नभइ विषम परिस्थितिमा प्रधानमन्त्री भएकाले तोकिएको सयमा प्रतिनिधि सभाको निर्वाचनबाट बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आफू आतुर रहेको पनि उनले स्पष्ट गरिन्।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको अवस्थामा गठित अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको हालै भएको निर्वाचनमा विजयी सदस्यहरूलाई बधाई पनि दिइन्।

प्रधानमन्त्री कार्कीले ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ पनि दिइन्।

राजनीतिक प्रभाव र दबाबमा नपरी कानूनको मर्मअनुसार जिम्मेवारी निर्वाह गर्न निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक प्रभाव र दबाबमा नपरी पूर्वाग्रहभन्दा माथि उठेर कानूनको मर्मअनुसारको जिम्मेवारी निर्वाह गर्न प्रहरी संगठनलाई निर्देशन दिएकी छिन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आज प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय र निश्पक्ष वातावरणमा सम्पन्न गराउन निर्देशन दिइन्।

'आसन्न निर्वाचन नेपाली लोकतन्त्रको उदाहरणीय र मानक बन्नुपर्छ। चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन, एक जना पनि घाइते हुनुहुँदैन' प्रधानमन्त्री कार्कीले भनिन्। उनले कर्तव्य पालनाका सिलसिलामा प्रहरी सङ्गठनबाट गरिएका सबै व्यावसायिक क्रियाको जिम्मा राज्यले लिने स्पष्ट पारिन्।

'प्रहरीको शक्ति हतियारमा होइन, कानूनमा हुन्छ, लाठ्ठीमा होइन, आचरणमा हुन्छ। कठोर परिस्थितिमा पनि संयम्, विवेक र न्यायको मार्ग पहिल्याउन सक्ने प्रहरी नै साँचो अर्थमा नेपाल प्रहरी हो', प्रधानमन्त्री कार्कीले भनिन्। उनले विगतका कमजोरी नदोहोर्‍याउने र भविष्यमा प्रहरीलाई अझ विश्वसनीय, जनमुखी र लोकतान्त्रिक बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याइन्।

प्रधानमन्त्री कार्कीले चुनौती र आलोचनाको बाबजुद नेपाल प्रहरीले पछिल्लो समय आफूलाई पुनःसंयोजन गर्दै अझ मजबुद, सङ्गठित र विश्वसनीय संस्थाका रूपमा स्थापित गर्न अग्रसर भइरहेको बताइन्।

'प्रहरी र समुदायबीचको नाता कसिलो छ भन्ने पनि भदौ २३ र २४ गतेपछि थप प्रमाणित भएको छ। आन्दोलनका दौरान क्षतिग्रस्त भएका धेरै प्रहरी संरचना समुदायले रातारात पुनःनिर्माण गरिदिएको छ', उनले भनिन्, 'यो भनेको प्रहरी सङ्गठनले आजसम्म आर्जन गरेको साख र विश्वासको नतिजा हो। यसलाई अक्षुण्ण राख्ने प्रत्येक प्रहरी कर्मचारीको उत्तिकै भूमिका रहन्छ।'

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संविधानले प्रत्याभूत गरेको हकअधिकारको संरक्षण गर्दै जिम्मेवार उत्तरदायी र जवाफदेही भई कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतलाई निर्देशन दिइन्।


प्रकाशित : सोमबार, माघ १९ २०८२१५:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend